धन बस्नेत, पोखरा-क्षेत्रफलले पोखरा लेखनाथ महानगरपालिका सबै भन्दा ठूलो हो । तर मोफसलको रुपमा परिचित छ । यही मोफसेली महानगरपालिकामा त्रिपक्षीय भिडन्तले स्थानीय तहको निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने आशा र विश्वास धेरैले गरेका छन् । नयाँ थपिएको वडासँगै ३३ वडाको महानगरपालिकाको नेतृत्व हाक्न नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र बीच अन्तिम प्रतिस्पर्धाको तयारी छ । 
मंगलबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । बैशाखको चर्को घाम लागेको थियो । विवाहको मौसम पनि हो । त्यसैले उम्मेदवारी दर्ता गर्न जाँदा सबैले बाजागाजाले रौनकता थप्दै निर्वाचन आयोग पुगे । मध्य दिनमा निर्वाचन आयोग पुगेर मनोनयन दर्ता गरेपछि आम मतदाता भने चुनावी रौनकताबाट अछुतो रहन सकेनन् । शीर्ष राजनीतिक दलहरुले मध्यरातमा मात्रै अन्तिम निर्णय गर्दै मेयर तथा उपमेयरको निक्र्यौल गरिदिए । जसले धेरै आकांक्षी देखिएका नेताहरुलाई भने पार्टीले थन्क्याईदियो । एमालेले सोमबार राति टुंगो लगाएको छ । कांग्रेसले पहिले टुंगो लगाएको उम्मेदबार परिवर्तन गर्दै नयाँ सार्वजनिक ग¥यो । माओवादीले मंगलवार बिहान टुंगो लगाउँदै उम्मेदवार मनोनयन दर्ता गरायो ।
नेपाली काँग्रेस
नेपाली काँग्रेसले सोमबार मध्यरात मात्रै मेयर र उपमेयरको उम्मेदवारी आधिकारिक रुपमा घोषणा ग¥यो । मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वीत गुरुङलाई टिकट दियो । अघिल्लो दिनसम्म पुर्व उपमेयर नरेशशकंर पालिखेको चर्चासँगै सामाजिक सञ्जालमा समाचार तथा शुभकामना समेत ओईरिसकेको थियो । तर मध्यरातमा रामजी कुँवरको निर्णय हुदैं काँग्रेसले अन्तिम नामावली सार्वजनिक गरेको थियो ।
अघिल्लो दिनमा नेपाली कांग्रेसले शुरुमा नरेशशंकर पालिखेलाई मेयर र चन्द्रावती पौडेललाई उपमेयर बनाएको थियो । तर एमालेले मानवहादुर जिसीलाई मेयर र मन्जु गुरुङलाई उपमेयर बनाएपछि कांग्रेसले रामजी कुँवरलाई मेयर र सरस्वती गुरुङलाई उपमेयर बनाएको छ । कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकले कुँवरलाई टिकट दिने निर्णय गरेको हो । कुँवर नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष तथा पूर्व महासमिति सदस्य हुन् ।
काँग्रेसको तर्फबाट ३३ जना मेयरको लागि आंकाक्षी थिए । ३२ प्रतिस्पर्धीलाई उछिन्दै कुँवरले टिकट सुरक्षित गरेका हुन् । यसअघि कांग्रेस कास्कीले सर्वसम्मत उम्मेद्वार चयन गर्न नसकेपछि आकांक्षी सबै ३३ जनाकै नाम केन्द्रमा सिफारिस गरेको थियो । सिफारिस ३३ जनामध्ये कुँवरलाई उम्मेद्वार बनाउने निर्णय भएको कांग्रेस कास्कीले जनाएको छ । त्यस्तै, उपमेयरमा कांग्रेसले पत्रकार सरस्वती गुरुङलाई उम्मेद्वार बनाएको छ । गुरुङ कांग्रेसको कृयाशील सदस्य हुन् भने नेपाल पत्रकार महासंघ कास्कीकी सदस्य समेत हुन् । कास्कीबाट उपमेयरको लागि १५जना सिफारिस गरिएको थियो ।
नेकपा एमाले
नेकपा एमालेले केन्द्रीय कमिटी सदस्य मानवहादुर जिसीलाई मेयर उम्मेदवार तय गर्दा पोखराका पूर्वमेयर तथा पार्टी जिल्ला अध्यक्ष कृष्ण थापा टिकटको दौडबाट बाहिरिएका छन् । जिल्ला र नगरको मतदानमा एक नम्बरमा भोट पाएका जिसीलाई नै उम्मेदवार बनाउने निर्णय स्थायी कमिटीले गरेको हो । यद्यपी उनी दोस्रो संविधान सभाको चुनावमा कास्की क्षेत्र नं १ कांग्रेसका यज्ञबहादुर थापासँग करीव डेढ सय मतले पराजित भएका थिए । एमालेले उपमेयरको उम्मेदवारका अघि सारिएकी मन्जु गुरुङ एमाले निकट अखिल नेपाल महिला संघ कास्कीकी अध्यक्ष हुन् । उनी पोखराका विभिन्न सामाजिक संस्थाहरुमा आवद्ध छिन् ।
माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा विश्वप्रकाश लामिछानेलाई उम्मेद्वार बनाएको छ । सोमबार दिनभरी छलफल गर्दा पनि उम्मेद्वार टुंगो लगाउन नसकेको माओवादी केन्द्रले मंगलबार बिहानै उम्मेद्वार टुंगो लगाएको हो । लामिछाने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् । उनी पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्ष समेत हुन् । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनी नगर विकास समितिका अध्यक्ष बनेका थिए । उनकै समयमा फेवाताल किनारमा फुट ट्रयाक निर्माण गरिएको थियो । त्यस्तै उपमेयरमा माओवादी केन्द्रले गोमा ढकाललाई उम्मेद्वार बनाएको छ । ढकाल माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य र पर्यटन व्यवसायी हुन् । उनी सामुदायिक सेवा केन्द्र बैदामकी पूर्वअध्यक्ष पनि हुन् । उनी सामाजिक अभियन्ता हुन् । उनी पोखरा उद्योग वाणिज्य संघकी निर्वाचित सदस्य समेत हुन् ।
राप्रपा
राप्रपाले गीता गुरुङलाई मेयरमा उठाएको छ । यसैगरी उपमेयरमा रमेशबहादुर खत्रीलाई उम्मेद्वार बनाउने निर्णय भएको राप्रपा कास्कीका सहसचिव सूर्य बास्तोलाले जानकारी दिए । पोखरा लेखनाथ महानगरपालिकाको मेयरको प्रतिस्पर्धी उनी एकमात्र महिला उम्मेदवार हुन् । मेयरका उम्मेद्वार गुरुङ राप्रपा क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष हुन् । उपमेयरका उम्मेद्वार खत्री पोखरा लेखनाथ महानगरपालिकाका संयोजक छन् ।
संघीय समाजवादी÷नयाँशक्ति
यसैगरी संघीय समाजवादी फोरम नेपाल र नयाँशक्तिले संयुक्त रुपमा पत्रकार हुमबहादुर गुरुङलाई मेयरको उम्मेद्वार बनाएका छन् । उपमेयरमा भने लक्ष्मी खाती परियारलाई उम्मेद्वार बनाइएको छ । मेयरका उम्मेद्वार गुरुङ तमुवान आन्दोलन परिचालन समितिका संयोजक हुन् । उपमेयरका उम्मेद्वार लक्ष्मी खाती परियार नयाँशक्ति निकट महिला शक्तिकी कास्की संयोजक हुन् ।
९८ मतदान स्थल, २ सय १० मतदान केन्द्र
पर्यटनको प्रमुख आधार रहेको पोखरा लेखनाथ महानगरपालिकामा ७७ हजार ३ सय ८१ पुरुष, ९० हजार ६ सय ८४ महिला र २ जना तेश्रो लिंगी गरी कुल १ लाख ६८ हजार ६७ मतदाता छन् । पछि थपिएकोसँगै गरी ३३ वटा वडा रहेको महानगरपालिकामा ९८ मतदानस्थलमा कुल २ सय १० वटा मतदान केन्द्र तोकिएको छ । बैशाख ३१ गतेको पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट पोखरा लेखनाथ महानगरपालिकामा १ सय ६७ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । एक प्रमुख, एक उपप्रमुख, ३३ जना वडाध्यक्ष, खुल्ला प्रत्येक वडाबाट २ र २ जनाको दरले ६६ जना, प्रत्येक वडामा १÷१ जना महिला र दलित महिला गरी ६६ जनासहित कुल १ सय ६७ जना निर्वाचित हुने प्रावधान छ । त्यस्तै, निर्वाचित नगरसभाले ३ जना पछि मनोनित गर्ने प्रावधान रहेको छ । सो समेत गरी कुल १ सय ७० जना जनप्रतिनिधी नगरसभामा रहने व्यवस्था छ ।