पोखरा । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादीले अझैपनि बन्दुकले तर्साउने प्रयास गरिरहेको कांग्रेस सभापति कोइरालाको आरोप छ । गृहमन्त्रीले पुरानै शैलीमा बन्दुकको डरधम्की देखाएर मधेसी जनतालाई तर्साउने प्रयास गरेको उनको आरोप थियो ।
उनले मधेसी मोर्चाको माग पूरा गर्न सकिने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका कोइरालाले सिमांकन आयोग मार्फत टुंग्याउँदै अन्य माग तत्काल संविधान संशोधन मार्फत पूरा गर्न सकिने बताए ।
कांग्रेस कास्कीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेसका माग वार्ता र छलफलबाट टुंगिने विश्वास व्यक्त गरे । उनले भने—‘दश बर्षे द्वन्द्वमा लागेको माओवादीलाई त वार्ता र छलफलबाट समाधान दिन सक्यौं भने मधेसमा आन्दोलनरत दलका माग पनि हामी वार्ताबाटै समस्या समाधन गर्न सक्छौँ ।’
कोइरालाले कांग्रेसभित्र व्यक्तिवादी चरित्र हावी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । यसले पार्टीको एकतालाई नै खलबलाउनसक्ने भन्दै उनले व्यक्तिवादी चरित्र तत्काल छाड्न नेता कार्यकर्तालाई आग्रह गरे ।
कोइरालाले बाह्रौं महाधिवेशनले पार्टी एकताको सन्देश दिएपनि हाल गुटउपगुट मौलाएको भन्दै असन्तुष्टी व्यक्त गरे । उनले आसन्न महाधिवेशनपछि पार्टी एक ढिक्का हुने विश्वास व्यक्त गरे ।
उनले कांग्रेस सभापति र प्रधानधन्त्री हुँदादेखि हालसम्म आफूबाट कुनै गल्ती भएको भए तत्काल आफुलाई जानकारी गराउन आग्रह समेत गरे । यद्यपि उनले आफूबाट गल्ती भएको भने स्वीकार गरेनन् । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेस अहिले सत्ताको राजनीतिक खेलमा नरहेको बताए ।