पोखरा-पोखरामा बढ्दो शहरीकरणका कारण फोहोरको मात्रा थुप्रिदै गएको छ । नगरक्षेत्रबाट निस्किने फोहोरलाई पोखरा उपमहानगरपािलकाले व्यवस्थापन गर्दै आएको छ । पोखरा उपमहानगरपालिका २ बर्षअघि नेपालकै सफा शहर घोषित भएको थियो । तर पछिल्लो समय यस क्षेत्रमा फोहोरजन्य बस्तुहरु उत्पादन बढी हुने र ब्यवस्थापन कम हुनाले त्यसको नकारात्मक प्रभाव वातावरणमा पनि देखिन थालेको छ । पोखराका १८ वटा वडाबाट मात्रै दैनिक ९५ टन फोहोर उत्पादन हुने गरेको छ । यसलाई बर्षको हिसाब गर्ने हो भने पोखराबाट बार्षिक करिब ३५ हजार टन भन्दा धेरै फोहोर उत्पादन हुने गरेको देखिन्छ । २ बर्ष अघि गरिएको सर्भेक्षण अनुसार पोखरामा उत्पादन हुने फोहोर मध्ये ६८ प्रतिशत कुहिने खालको फोहोर छ । उत्पादित फोहोर मध्ये १८ प्रतिशत कुनै पनि काममा प्रयोग नहुने खालको छ । त्यसैगरी कूल फोहोर मध्ये १४ प्रतिशत फोहोरलाई पुन प्रयोग गर्न सकिने खालको छ । पुन प्रयोग गर्न सकिने खालको फोहोर प्रशोधन गरी विभिन्न खालका मालसामानहरु बनाउन सकिन्छ । यी फोहोरहरु कवाडी संकलकहरुले संकलन गरेर पुनः प्रयोगमा ल्याउँछन् । 
पुनः प्रयोग गर्न मिल्ने खालका फोहोरलाई भने कवाडी ब्यवसायी संघ कास्कीले व्यवस्थापन गरिरहेको छ । पोखरामा कागज, प्लाष्टिक, सिसा तथा फलामजन्य कवाडीजन्य बस्तु निस्किन्छन् । विभिन्न क्षेत्रबाट निस्किने फोहोरलाई प्रकृति छुट्टाई विक्री वितरण समेत गरिन्छ । त्यस्ता फोहोरलाई कास्की जिल्ला कवाड संघले समेत मजदुर नै खटाएर संकलन गर्दै आएको छ । यसलाई ब्यवस्थित गर्न संघले मजदुर(भरिया)लाई अनिवार्य पोशाक(ड्रेस) र परिचयपत्रको व्यवस्था गरिदिएको छ । बुधवार पोखरामा एक कार्यक्रमको आयोजना गरी यहाँ कार्यरत सबै कवाडी संकलकहरुलाई परिचय पत्र वितरण गरिएको हो । कवाडी संकलन गर्ने पेशालाई सम्मानित र मर्यादित बनाउने उद्देश्यले परिचय पत्र र पोसाक वितरण गरिएको संघका अध्यक्ष केशव अधिकारीले जानकारी दिए ।
हामीमाथी चोरीका आरोपहरु पनि लाग्ने गरेका छन्, अधिकारीले भने–पोशाक र परिचयपत्र व्यवस्था गरेपछि कवाडी संकलनमा देखिदैँ आएको विकृति न्युनिकरण हुने अपेक्षा छ । चोरीका सामानहरु कवाडीका रुपमा बिक्रि बितरण हुने गरेको गुनासो बढेपछि संघले यस्तो ब्यवस्था ल्याएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरि बहादुर पालले पनि यो ब्यवस्थाले चोरीका घटना कम हुने बताएका छन् । सबै ब्यवसायीहरुले चिनेर मात्रै सामान किन्नुपर्छ, उनले भने–२ पैसाको लोभमा चोरीको सामान नकिन्नुहोला ।
यसलाई ब्यवस्थित गर्नका लागि परिचयपत्र र पोशाक नभएका व्यक्तिहरुलाई कवाडीजन्य बस्तु संकलनमा पूर्ण रुपमा रोक लगाउने संघका अध्यक्ष अधिकारीले जाकारी दिए । यहाँ कवाडी संकलन गर्ने सबै संकलकलाई हामीले परिचयपत्र दिएका छौं, अधिकारी भन्छन्–अबदेखि सडक बालबालिकाको समस्या पनि हुँदैन र उनीहरुलाई हामी श्रममा लगाउँदैनौं । यसअघि भने अधिकांश सडक बालबालिकाहरु यो पेशामा लागेको सुन्ने गरिन्थ्यो । पोखरामा कवाडी संकलन गर्ने मध्ये २५ प्रतिशत नेपाली छन् भने ७५ प्रतिशत भन्दा बढी भारतीय नागरिक छन् । पोखराबाट संकलन हुने कवाडी बाट दैनिक ७ देखि १० लाख रुपैयाँसम्म कारेवार हुने जिल्ला कवाडी ब्यवसायी संघ कास्कीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले कवाडी संकलन गर्ने मजदुरको यकिन तथ्यांक राख्ने उद्देश्यसहित परिचयपत्र र पोशाकको व्यवस्था गर्ने सम्बन्धमा आवश्यक छलफल समेत गरेको थियो । पोखरामा दैनिक २० टन कवाडी संकलन हुने गरेको तथ्यांक कवाडी ब्यवसायी संघ कास्कीसँग छ । संघका अध्यक्ष केशवप्रसाद अधिकारीका अनुसार दैनिक १० लाख रुपियाँ बराबरको कवाडी सामान संकलन हुने गरेको छ । कवाडी संकलन गर्न पोखरा र लेखनाथमा ७५ वटा संकलन केन्द्र छन् । ती संकलन केन्द्रमा १ हजार २ सय मजदुर आवद्ध छन् । हामीसँग अहिले १२ सय जना प्रत्यक्ष रुपमा काम गर्ने मजदुरहरु छन्, अधिकारीले भने–अप्रध्यक्ष रुपमा पनि केही हुन सक्छन्, उनीहरुलाई पनि हाम्रो मातहतमा ल्याउने प्रयास गरिरहेका छौं ।