breaking news

कहाँ गए गाभिएका गाविस सचिवहरु ?

July 23rd, 2015 | by adminabis

पोखरा-नगरपालिकामा गाविस गाभिएपछि सरकाले सचिवको सरुवा अथवा कुनै व्यवस्था नगर्दा कास्कीमा अझै ७ जना गाविस सचिव काम विहिन भएका छन् । गत मंसिर १६ गतेको मन्त्रिस्तरीय निर्णयले कास्कीका ११ वटा गाविसहरु नगरपालिकामा गाभ्ने निर्णय गरेको थियो । ति मध्ये १० वटा गाविस पोखरा उपमहानगरपालिका र एउटा गाविस लेखनाथ नगरपालिकामा गाभिएका छन् । नगरपालिकामा गाविस गाभिएपछि ११ जना सचिवहरु र यसअघि देखि नै फाजिल रहेका २ जना गरी १३ जना सचिवहरु अहिले कामविहिन थिए । केही सचिवहरु कार्यक्षेत्रमा खटिएपनि अझै ६ जना सचिवहरु जिविसमा नै छन् ।

कास्कीका गाविस सचिवको दरबन्दी ३२ जनाको हो । अहिले यहाँ ३८ जना सचिवहरु छन् । गाविसहरु नगरपालिकामा गाभिएपछि त्यहाँका सचिवहरु पनि जिविसमा हाजिर भएका थिए । उनीहरु मध्ये केही बाहेक सबैजसो कार्यक्षेत्रमा गैसकेका छन् । साविकको अर्मला गाविसका सचिव राजेन्द्र आचार्य सैमराङ गाविसमा खटिएका छन् भने हेमजा गाविसका सचिव प्रभाकर घिमिरे क्षेत्रीय प्रशासन कार्यालय कास्कीमा हाजिर भएका छन् । यस्तै सराङकोट गाविसका सचिव नारायण प्रसाद आचार्य क्षेत्रीय अस्पताल पोखरा, भरतपोखरी गाविसका सचिव बिष्णु पौडेल जिल्ला जनस्वास्थ्य कार्यालय, पुम्दीभुम्दीका सचिव गुरु प्रसाद पौडेल सहकारी डिभिजन कार्यालय, कृष्तिका सचिव डिल्लीराम रेग्मी माझठाना र लामाचौरका सचिव स्थानेश्वर ढुगांना देउराली गाविसमा खटिएका छन् । निर्मलपोखरी गाविसका सचिव गंगादत्त पौडेलले भने अवकाश लिईसकेका छन् ।

अहिले साविकको काहुँ गाविसकी सचिव दमयान्ती पराजुली, आर्वा बिजय गाविसका सचिव रवीमोहन सापकोटा, भलाम गाविसका सचिव कमल बस्नेत सहित खरिदारहरु विरेन्द्र कुवँर, बुद्धीसागर पंगेनी, नासु नारायण अधिकारी र अर्का नासु ईश्वरी प्रसाद पोख्रेल जिविसकै हाजिरीमा छन् । यी मध्ये १ जनालाई हंसपुर गाविसमा खटाउने तयारी भैरहेको जिल्ला विकास समिति कास्कीकी प्रशासन शाखा प्रमुख मीना पौडेलले जानकारी दिईन् । हामीसँग ६ जना सचिव दरबन्दी भन्दा बढी छन्, उनले भनिन्–१ जनालाई हंसपुरमा खटाउने तयारी भएको छ, अझै ५ जना बढी हुनेछन् । हंसपुरका सचिव धर्मदत्त बरालले स्वेच्छिक अवकाश दिन लागेका छन् ।

दरबन्दी भन्दा बढी रहेका सचिवहरु पनि अहिले जिल्ला विकास समितिमै हाजिर भएर विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । नासु ईश्वरी प्रसाद पोख्रेल अहिले पोखरा उपमहानगरपालिकाको पञ्जीकरण शाखामा कार्यरत छन् भने दमयन्ती पराजुली पनि नगरपालिकाको वडा नम्बर २१ काहुँमा नै कार्यरत छिन् । बाँकी सचिवहरु जिविसमा हाजिरी गरेर मात्रै फर्किने गरेका जिल्ला विकास समिति कास्कीले जनाएको छ । गाविस सचिवको दरबन्दी मिलानको बिषयमा मन्त्रालयमा पत्र पठाईसकिएको र मन्त्रालयले निर्णय गरेपछि मात्रै उनीहरुको पदस्थापन हुने जिविस कास्कीका योजना अनुगमन तथा प्रशासकिय अधिकृत किर्तनराज पौडेलले जानकारी दिए । दरबन्दी मिलान गर्ने जिम्मेवारी हाम्रो होईन, उनले भने–हामीले बढी भएका सचिवको नामावलि सहित मन्त्रालयमा पत्र पठाईसकेका छौं, उतैबाट निर्णय हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *