पोखरा -आज बन्दीपुरमा कार्यक्रम हुदै छ । कार्यक्रमको लागि पोखरा उपमहानगरपालिकाले बजेट निकासा दिईसकेको छ । कार्यक्रमको बारेमा पत्रकारलाई पनि निकै गोप्य राखिएको छ । पत्रकारलाई समेत सूचना गोप्य राखेर बन्दीपुर जानको लागि आग्रह गरिएको छ । को को पत्रकार जाँदै छन् स्वयं जानेवाला पत्रकारलाई पनि पूर्ण जानकारी छैन् । कार्यक्रम के हो भन्ने विषयमा पनि पत्रकार अनभिज्ञ छन् ।
‘कुनै पनि कार्यक्रम गर्दा वा गर्ने संस्थालाई पत्रकार महासंघको अध्यक्ष र सचिवले सिफारिस गर्ने गरिएको छ । ’पत्रकार महासंघ कास्की शाखाका सचिव त्रिभुवन पौडेलले भने—‘तर आज बन्दीपुरमा हुने कार्यक्रकको लागि भने सिफारिस गरिएको छैन् । अध्यक्षलाई समेत सोध्दा जानकारी छैन् भन्ने आयो ।’ महासंघको लेटरप्याडमा गरिएको सिफारिसमा अध्यक्ष र सचिवले सिफारिस नगरेको सचिव पौडेल बताउँछन् । अन्यले सिफारिस गरेको अझसम्म भेटिएको छैन् । सचिव पौडेलका अनुसार सिफारिस गरिएको ‘ओसी पेपर’ समेत पत्रकार महासंघमा छैन् ।
पोखरा उप–महानगरपालिकामा पत्रकार महासंघ कास्कीको लेटर प्याड दुरुपयोग गरेर रकम निकासा गरिसकेको छ । बन्दीपुरमा हुने कार्यक्रमको लागि पोखरा उपमहानगरपालिकाको तर्फबाट विभिन्न शाखाका अधिकृतहरुको उपस्थिति रहने छ भने पत्रकारको तर्फबाट पनि १५ जना सहभागिता रहने अनुमान गरिएको छ । नगरपालिकाका लेखा प्रमुख तोरण कुँबरका अनुसार कार्यक्रमको लागि महासंघको लेटर प्याडमा भएको सिफारिस अनुसार एकलाख रुपियाँ पेश्की स्वरुप निकासा दिइएको छ । महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीलाई सम्पर्क गर्दा मोवाईल उठन सकेन् ।
नेपाल पत्रकार महासंघ कास्की शाखा कार्यलय सहयोगी जगत कार्कीका अनुसार महासंघबाट गरिएको सिफारिसको ओपी पेपर राख्ने गरिन्छ । तर आपतकालिन अवस्थामा अध्यक्ष र सचिवको निर्देशन एवं आग्रहमा उपलब्ध गराईएको अवस्थामा मात्रै ओसी पेपर नहुने उनको तर्क छ । कार्यक्रम एलजीसिडीपीको हो । कर्मचारीलाई भने आईटी सम्बन्धि भएको जानकारी दिइएको छ । यद्यपी ठोस कार्यक्रमको बारेमा विस्तृत जानकारी कसैलाई पनि छैन् ।
कार्यक्रमको लागि पत्रकार महासंघको सिफारिस भईआएको पोउमनपाका प्रमुख उदयबहादुर राना बताउँछन् । तर त्यसका बारेमा पत्रकार महासंघका जिम्मेवार पदाधिकारी अध्यक्ष, उपाध्यक्ष र सचिवलाई कुनै जानकारी छैन । पोउमनपाले छुट्टाउने संचार क्षेत्र प्रर्वद्धन कोषको रकम पत्रकार महासंघ कास्कीको सिफारिसमा खर्च हुने परम्परा केही बर्ष देखिछ । यो बाध्यकारी भने हैन ।
साथै पोखरामा पर्यटन क्षेत्र ओरालो लाग्यो भनेर यहाँका ब्यवसायीहरुले आवाज उठाइरहेका बेला पोखरेलीको करबाट, उठेको रकम बेजिल्लामा गएर खर्च गर्ने तयारीमा पोखरा उपमहानगरपालिका रहेको छ । पत्रकार महासंघ कास्कीको लेटरप्याड दुरुपयोग गरेर रकम निकासा गरेको समाचार सामाजिक सञ्जाल फेसवुकमा भाइरल बनेको छ ।
पत्रकार महासंघ कास्कीले पोखराको पर्यटन प्रर्बद्धनका लागि बिभिन्न जिल्लाको भ्रमणको कार्यक्रम राख्ने प्रस्ताब लैजादा पोखरा उपमहानगरपालिकाले अस्वीकार गरेको थियो । वरिष्ठ अधिकृत ओमराज पौडेलले जिल्ला बाहिरको कार्यक्रमका लागि सहयोग दिन नमिल्ने बताएका थिए । यद्यपी बन्दीपुरको कार्यक्रममा उनी पनि सहभागिता रहने छ । गोष्ठी संचालन गर्न नगरपालिकाले पैसा दिएको छ । नगरपालिकाले बनाउने संचार नीतिका बारेमा छलफल गर्ने भनिएको कार्यक्रमका बारेमा पोखराका अग्रज पत्रकारहरु नै अनभिज्ञ छन् ।