पोखरा २२, बैशाख- कास्कीको कालिका गाविसलाई मंगलबार एक समारोहका बीच एक साक्षर पूर्ण खोपमुक्त गाविस घोषणा गरिएको छ । जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, विभिन्न विद्यालय तथा संघ संस्था, राजनीतिक दलहरुको प्रतिबद्धतामा सरोकारवालाहरुले गाविसलाई पूर्ण साक्षर तथा पूर्ण खोपमुक्त गाविस घोषणा गरेका हुन् ।
प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले शहर तथा सुविधा सम्पन्न पूर्ण साक्षर घोषणा गर्न नसकिरहेको बेला गाविसहरुले घोषणा गरेर बौद्धिकता र सचेतनाका हिसाबले गाउँहरु अगाडि रहेको धारणा व्यक्त गरे । नागरिक शिक्षित, स्वस्थ र सभ्य भएमात्र उक्त ठाउँको विकास सम्भव हुने बताउँदै पूर्ण खोप र साक्षर घोषणाले सहयोग पु¥याउने विश्वास थपलियाले गरे ।
स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले मानव सुचाकाङ्कका तीन आयाम औसत आयु, साक्षरता र प्रतिव्यक्ति आय भएकोले त्यसलाई मिलाएर अगाडि बढाउन सकेमात्र घोषणा कार्यक्रमको सार्थकता रहने स्पष्ट पारे । सहायक जिल्ला शिक्षा अधिकारी गगन सिंह थापाले घोषणा कार्यक्रम पछि पनि साक्षर अभियानलाई निरन्तरता दिइरहने प्रतिवद्धता व्यक्त गरे ।
वरिष्ट जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले सबैको सक्रियताले मात्र पूर्ण खोप सम्भव रहने बताउँदै स्वास्थ्यसम्बन्धि चेतनामा आएको बृद्धिले स्वस्थ नागरिक उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । गाविस प्रमुख शोभाखर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका बैकल्पिक केन्द्रीय सदस्य मानवहादुर जि.सी, नेपाली काँग्रेस कास्की सचिव कृष्ण के.सी, एमाओवादी कालिका गाउँ कमिटिका भीमनाथ कुईकेल, गाविस कोष अध्यक्ष डाल्डादेवि भुजेल, जनज्योती उच्च माविका प्राध्यानाध्यापक माधव प्रसाद पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कास्की जिल्लालाई पूर्ण खोप र पूर्ण साक्षर घोषणा गर्ने अभियान अन्र्तगत कालिकालाई २३ औं गाविसको रुपमा घोषणा भएको हो । १५ देखि ६० बर्षका ९५ प्रतिशत साक्षर भएपछि पूर्ण साक्षर घोषणा गर्ने प्रावधान रहेको छ । सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अपिल त्रिपाठीले गरेका थिए ।
पाठक प्रतिकृयाहरू