breaking news

कास्कीका ताल रामसारमा सूचीकृत

February 2nd, 2016 | by adminabis

पोखरा, । कास्कीका नौ ताललाई रामसारमा सूचीकृत गरिएको छ । जैविक विविधताको निश्चित मापदण्ड पूरा गरेका पोखराका फेवा, रुपा, बेगनास, खास्टे, कमलपोखरी, गुदें न्युरेनी, दिपाङ, खास्टे र मैदीताललाई जेनेभास्थित रामसारको सचिवालयले सामूहिकरुपमा सूचीकृत गरेको हो ।
पोखरा उपत्यका ताल संरक्षण समिति कास्कीका संयोजक एवम् स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीका अनुसार भोलि सचिवालयबाट आएका प्रतिनिधिले औपचारिक प्रमाणपत्र प्रदान गरेसँगै कास्कीका नौवटा ताल रामसारमा सूचीकृत हुनेछन् । कास्कीका यी तालका पानीले ओगटेको क्षेत्र ९२४ हेक्टर रहेको जानकारी गराउँदै उनले यी तालको जलाधार क्षेत्र र तालसँग अन्तर सम्बन्धित सेती जलाधार क्षेत्रसमेत गरी पोखरा उपत्यकाका तालको सञ्जालले ओगटेको कुल क्षेत्रफल दुई हजार ६१० हेक्टर हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
पोखराको सम्पूर्ण पर्यापर्यटन तालमै निर्भर रहेको छ । वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव विजयराज पौडेलले रामसार सूचीमा सूचीकृत भएसँगै तालको संरक्षण र विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताए । कास्कीका ताल सूचीकृत भएसँगै नेपालमा रामसारको संख्या १० पुगेको छ । पोखराका नौ ताललाई एकै समूहमा राखी रामसारमा सूचीकृत गरिनु विश्व मै अनुपम नमुना भएको प्रकृति र प्राकृतिक स्रोतको संरक्षणका लागि अन्तराष्ट्रिय संघ (आइयुसिएन) का नेपाल प्रतिनिधि यमबहादुर मल्लले बताए ।
‘नौ तालको एक समूह रामसारको क्षेत्रमा अनुपम सञ्जाल हो, यो विश्वमै नयाँपन पनि हो’ उनले भने— ‘यो घोषणाले दुर्लभ वन्यजन्तु तथा वनस्पतिको संरक्षणमा योगदान पुग्ने, पर्यापर्यटनमा अभिवृद्धिका साथै आर्थिक विकासमा टेवा पुग्ने र वातावरणका क्षेत्रमा अन्तराष्ट्रिय रुपमा आर्थिक सहयोगसमेत प्राप्त हुनेछ ।’
सरकारले यस वर्षको रामसार दिवस ती तालको रामसारमा सूचीकृत गरी मनाउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता डा महेश्वर ढकालले जानकारी दिए । उनले रामसार सूचीमा सूचीकृत भएसँगै कास्कीका यी तालले अन्तराष्ट्रिय पहिचान प्राप्त गर्ने बताए । सूचीकृत भएसँगै यी तालको संरक्षण र विकासका लागि आवधिक योजना बन्ने, संरक्षणमा स्थानीय जनसहभागिता बढ्ने, पर्यापर्यटन प्रवद्र्धन हुने तथा यहाँ रहेका दुर्लभ र लोपोन्मुख वन्यजन्तु तथा जलचरको संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।
सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसार सहरमा भएको अन्तर सरकारी महासन्धिले अन्तराष्ट्रिय महत्वका सीमसार क्षेत्रको संरक्षणमा केही प्रावधान राखेकाले सो महासन्धिलाई रामसार महासन्धि भनिन्छ । सोही महासन्धिअनुसार कुनै पनि सीमसार संरक्षणको सूचीकृत भएमा त्यसलाई रामसार भनिन्छ र सोही दिन (फेब्रअरी २) लाई नै विश्वमा रामसार दिवसको रुपमा मनाइन्छ ।
वातावरण विषयमा अध्ययन अनुसन्धान गर्न सहज हुने, तालको विनास गर्ने, माछा मार्न विषको प्रयोग तथा रसायनको प्रवेशको नियन्त्रण हुने र भावी पिढीलाई स्वच्छ ताल र वातावरण हस्तान्तरण गर्न मद्दत पुग्ने प्रवक्ता ढकालले बताए । सन् १९८७ मा कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्र घोषणा गरी नेपाल रामसार महासन्धिमा प्रवेश गरेको हो । नेपालमा हालसम्म सोलुखुम्बुको गोक्या, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको जगदीशपुर, मुगुको रारा, कैलालीको घोडाघोडी, डोल्पाको से–फोक्सुन्डो, इलामको माइपोखरी र चितवनको बीसहजारीताल रामसारमा सूचीकृत भइसकेका छन् ।
जैविक विविधताको भण्डार मानिने सीमसार क्षेत्रले मुख्यरुपमा पृथ्वीमा पानीको सञ्चय गर्ने र पानीको पुनः भण्डारणलाई जोगाउने काम गर्छ । यसले प्राणी र वनस्पतिको वासस्थानलाई जोगाउने भएकाले पनि यो परिस्थकीय प्रणालीका लागि महत्वपूर्ण मानिन्छ । विश्वभर हालसम्म १६९ देशका दुई हजार २२५ सीमसार रामसारमा सूचीकृत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *