धन बस्नेत(पोखरा)
बुधबार राती परेको भीषण पानीले कास्कीको तीन गाविसमा गएको पहिरोमा परी २६ जनाको मत्यु भएको छ । १४ जना घाईते भएका छन् । अर्बौको भौतिक क्षति भएको छ । प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार कास्कीको लुम्लेमा १९ जना, भदौरे तामागी डुडेको फाटँमा ५ जना, ढिकुरपोखरी ९ मा दुई गरी २३ जनाको मृत्यु भएको हो । १४ महिला, ७ पुरुष, चार वालक र एक बालिकाको शब भेटिएको प्रहरीले जनाएको छ । पहिरोमा परी केही वेपत्ता भएको अनुमान गरिएको छ । उनीहरुको खोजीकार्य भईरहेको छ । यद्यपी साँझ पानी परेपनि केही समस्या भएको प्रहरीले बताएको छ । 
पहिरोमा परेर घाईते भएका १४ जनाको पोखराका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । घाईते मध्य ११ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । पहिरोले भदौरेतामागीमा १० घरमा पूर्ण क्षति भएको छ भने तीन घरमा आंशिक क्षति भएको छ । ढिकुरपोखरीको पहिरोमा पुरिएर एक जना घाईते भएका छन् । ढिकुरपोखरी ९ की ७५ बर्षिय टोपली दाहालको टाउकोमा गम्भिर चोट लागेको छ । गत बैशाख १२ र २९ गते विनाशकारी भूकम्पले कमजोर बनाएको डाडाँमा अविरल वर्षाले गम्भीर क्षति पु¥याएको हो । तीन वटै गाविसमा गएको पहिरो निकै भिरालो सतहमा रहेको छ । भदौरे तामागीमा गएको पहिरोले फेवातालको सतह बढेको छ । तालको सतह माथिसम्म आएको छ । तालमा पानीको घनत्व बढेपछि फेवा वाँध केही खोलिएको थियो । किसानले खेती गर्दै आएको खेत पनि पानीले ढाकेको छ । खोलामा बाढी आउँदा गाँउ तर्ने झोलुङे पुल समेत बगाएको छ । 
पहिरोमा परी बेपत्ता दुई महिला र एक वालक सहित तीन जनाको खोजी कार्य जारी छ । लुम्लेको पहिरोमा परी घाईते भएका तीन जनाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घाईते २० बर्षिय रिता देवकोटा, ८ महिनाका वालक नितेस देवकोटा र १८ बर्षिय जुना सुनारको उपचार भैरहेको कास्की प्रहरीले जनाएको छ ।
लुम्लेमा १० वटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । स्थानीय आईतबहादुर गुरुङ, टिकाराम देवकोटा, गुरुदत्त देवकोटा, ईन्द्रप्रसाद देवकोटा, रत्न पौडेल, खिमबहादुर क्षत्री, पद्मीह देवकोटा, , देवताराम देवकोटा, शालिकराम देवकोटा र वसन्त बि.क को घर पहिरोमा परेको हो । राति १ बजे बस्ती माथिको लुम्ले भिरबाट खसेको पहिरोले २० हजार लिटर क्षमताको खानेपानीको ट्याङ्की फुटाएपछि त्यसले बाढीको रुप लिएको थियो । पोखरादेखि झण्डै ३४ किलोमिटर दुरी टाढा लुम्लेको पहिरो उद्दार गर्न नेपाली सेनाको ५० जनाको टोली विहान नौ बजे पुगेको थियो । फुलबारीस्थित सिद्धिबक्स गणको टोली विहानै निस्किएपछि अवरुद्ध सडक हटाउँदै पुग्दा ढिलो हुन पुगेको गणका मेजर अजय अधिकारीले जानकारी दिए । 
पोखरा–बाग्लुङ राजमार्ग अन्तर्गत हेमजा सडक खण्डको सुईखेतदेखि नै पहिरो खसेर सडक अवरुद्ध बनेको थियो । सुईखेतमा गतवर्षकै ठाँउमा पहिरो खस्दा स्थानीय अम्बिका मावि प्रभावित भएको छ । त्यसभन्दा अगाडि फेदीमा पनि पहिरोले सडक अवरुद्ध बनाएका थियो । पहिरोमा परेकाको उद्धार र हराएकाको खोजीको लागि नेपाली सेना, शसस्त्र प्रहरी वल र नेपाल प्रहरी खटिएका छन् । बुधवार रातिको बर्षाले कास्कीका एक सय भन्दा बढी स्थानमा पहिरो गएको छ । पोखरा बाग्लुङ राजमार्ग ५० भन्दा बढी स्थानमा अबरुद्ध छ । पोखराको हेम्जा स्थित सुईखेतबाट सुरु भएको अबरोध लुम्लेको पहिरोसम्म छ । बिभिन्न स्थानमा सडक माथिबाट खसेको पहिरो हटाउन पाँच बटा डोजर परिचालन गरिएको छ ।खोलामा आएको बाढीको कारण पोखराको फेवातालमा पानीको सतह बढेको छ । ताल सुकेपछि बनेको फेवाफाँट तालमै परिणत भएको छ । हेम्जाको सुईखेतमा ९ घर बिस्थापित भएका छन् । त्यस्तै पोखराको रामघाट क्षेत्र पनि डुवानमा परेको छ ।
पिढींमा आमा छोरीको शव, गाँउनै शोक
‘माईती घरको पिढींमा आमा र छोरीको शव छ । जन्मदिएकी आमाको काखमा छोरी र नातिनी चीर निद्रामा छन् । गाँउले घर वरिपरि बसेर विलौना गरिरहेका छन् । सिंगो गाउँनै शोकमा डुबेको छ । तीन महिना अघि सुत्केरी खान माईती आएकी २१ वर्षिय मन्जु सुनार शुक्रबार घर फर्किने तयारीमा थिईन् । चार महिनाकी शिशु ( सीमा सुनार) च्यापेर घर फर्किने तयारी रहेकी उनी छोरीलाई काखमा च्यापेर सुतेको अवस्थामा पहिरोले पुरिदियो । 
‘हिजो राती(बुधबार) सुत्दा ६÷७ घर थिए । विहान उठ्दा सबै सम्मै भएछ ।’ सुनारकी आमा ४५ वर्षिया विभा परियारले गाँउ नै पहिरो बगाउँदा भक्कानिदैं भनिन—‘छोरीलाई शुक्रबार मात्रै घर पठाउने तयारीमा थियौं । तर पहिरोले सबै लगिदियो ।’ बुधबार रातीको अविरल वर्षाले कास्कीको लुम्ले गाविसको ४ र ६ वडामा पहिरो खस्दा विकसहित १५ जनाको ज्यान गएको छ ।
‘रात भरी अविरल वर्षा भईरहेको थियो । वर्षाले घरछेवैको गोठ लडेछ । गोठ लड्दा भूकम्पको जस्तो आवाज आयो । गोठमा बाँधेको भैसीं कराएपछि अत्तालिदैं गोठमा पुगेर दाम्लो काटेर छोड्यौं ।’ विभाले आखाँभरी आसुँ लिदैं आफनो विलौना सुनाउन थालिन–‘विहान मात्रै पहिरोले छोरी र नातिनी पुरिएको थाहा पायौं ।’ घर फर्किने तयारीमा रहेकी सुनार बुधबार राती आफनो भाउजू रिता सुनारको घरमा साथेलाग्न गएकी थिईन् । भाउजु पनि सँगै पहिरोमा पुरिइन् । बहिनी जुना सुनार भने बाँच्न सफल भएकी छिन् । तनहुँ भिमाद घर भएकी मन्जुका श्रीमान भने बैदेशिक रोजगारीमा छन् । परियार विहानैदेखि आँसुमा डुबेकी छिन् । छोरी र नातिनीलाई काखमा राखेर विलौना गरिरहँदा गाँउले पनि सहानुभूति दिईरहेका छन् । यद्यपी आखाँबाट आँसु रोकिएको छैन् । घर अगाडि दाम्लो काटेर छोडेको भैंसीलाई बाँधिएको छ । 
एकै परिवारका छ जनाको मृत्यु
‘विहानै मैले घरमा फोन गरेको थिएँ । तर कसैले पनि केही पनि जानकारी दिएनन् ।’ १७ वर्षिय सन्जिता विकले भनिन—‘माईजूले फोन गरेर जानकारी नदिईकनै घर ल्याउनु भनेर जानकारी दिएपछि म घरमा आएकी थिएँ ।’ घर आउँदा गम्भीर दृष्य देखेपछि अर्धचेत बन्न पुगिन् ।
सन्जिता दशजोड दुई अध्ययनको लागि मामा घरमा आएकी थिईन् । १७ वर्षिया विक चार दिन अघि पढ्न आउँदा परिवारका अन्य सदस्य घरमै थिए । बुधबार राती पहिरोले घर पुर्दा उनी मात्रै बाँचिन् । बुवा भने बैदेशिक रोजगारमा छन् । उच्च शिक्षा पढ्न आएको बेला घर पहिरोले बगाईदिएपछि उनले परिवार गुमाउन पुगिन् ।
८३ वर्षिय हजुरबुवा बसन्त विक, ८० वर्षिया हजुरआमा बाटुली विक, ४० वर्षिय आमा चिजा विक, १२ वर्षिया बहिनी सलिना विक, ९ कक्षामा पढने १४ वर्षिया बहिनी सम्झना विक, तीन कक्षामा पढ्ने ९ वर्षिय भाइ समिल विकको मृत्यु भएको थियो । उनको घरसँगै अन्य घर पनि पहिरोले बगाएको छ । गाँउ नै उराठ लाग्दो बनेको छ । बिहीबार साँझ पनि पानी परेपनि पहिरोबाट पीडित स्थानीयबासिन्दालाई रात कटाउन कष्टकर भएको छ । घटनास्थल लुम्लेको कविता गाँउसँगै जोडिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको जानकारी अनुसार मृतकको बिवरण
१)जिल्ला कास्की भदौरे तामागी ५ बस्ने बर्ष ६५ को टिकाराम बिक।
२) बर्ष ५५ कि रामकुमारी बिक
३)बर्ष ३१ कि गौरी पराजुली ९महिला०
४) बर्ष ७ को करण पराजुली
५) बर्ष ६५ कि नन्दकली पराजुली
मृतकको बिवरण
१, लुम्ले ६ बस्ने बर्ष १० को अर्जुन गुरुङ
२, ऐ बस्ने बर्ष ७० की रत्ना पौडेल
३, ऐ बस्ने बर्ष ८४ को बसन्ती बिक
४) बर्ष ३२ कि चिजा बिक
५) बर्ष १४ कि संझना बिक
६) बर्ष १० कि सलिना बिक
७) बर्ष ९ को सुनिल बिक
८) बर्ष २६ कि मन्जु सुनार
९)मन्जु सुनारको ३ महिनाको छोरी सीमा सुनार
१०) बर्ष ३२ कि सुनकुमारी जिसी
११) बर्ष १० को सुगम जिसी
१२) बर्ष ५ को संगम जिसी
१३) बर्ष ५६ को छिरिङ राई
१४) नाम थर नखुलेकोनिज छिरिङ राईको श्रीमती
१५) बर्ष ६५— ७० की खिमौरी विक
१६) ऐ ऐ बस्ने बर्ष ६५— ७० की पदमी देवकोटा
१७) ६७ वर्षिय गुरुदत्त देवकोटा
१८) २२ वर्षिय तुलसी देवकोटा
१९) ६० वर्षिय तीलकुमारी देवकोटा
ढिकुरपोखरी गाविसमा मृत्यु भएको विवरण
१)१७ बर्षिय अस्मिता दाहाल
२) १९ बर्षका प्रेमराज दाहाल