आविष्कार संवाददाता पोखरा
कास्की जिल्लाको नयाँ आवद्यिक योजना निर्माण गर्ने काम तिब्र पारिएको छ । जिल्ला विकास समिति कास्कीले आगामी पाँच बर्षका लागि नयाँ योजना तयार गर्न लागेको हो । योजना निर्माणको तयारी स्वरुप शुक्रबारदेखि कास्कीको धम्पुसमा योजना तर्जुमा गोष्ठी सञ्चालन भएको छ । जिविसले यो बर्ष तेश्रो योजना निर्माणको तयारी गरेको कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।
२०५७ सालदेखि कास्कीमा लगातार आबद्यिक जिल्ला विकास योजना निर्माण र कार्यान्वयन हुँदै आएको कास्कीका पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेलले जानकारी दिए । सबैभन्दा पहिलो योजना हामीले खासै कार्यान्वयन गर्ने मौका पाएनौं, पौडेल भन्छन्–त्यसपछिको योजना कार्यान्वयनको दर अलि बढी देखिन्छ तर सन्तुष्ट भने छैन । कास्कीको पहिलो आबधिक योजना ७ बर्षको थियो भने त्यसपछिको योजना ५ बर्षको लागि तर्जुमा भएको थियो । नेपाल सरकारले पछिल्लो समय तल्लो तहबाट विकासको खाका तयार गर्ने योजना ल्याएअनुसार आफुँहरुले पनि आबधिक योजनालाई प्राथमिकता दिन लागेको कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले बताए । अघिल्लो बर्ष नै योजना तयार हुनुपथ्र्यो, उनले भने–तयारी नपुगेका कारण एकबर्ष पछि बल्ल योजनाको तयारी गरिएको छ । भदौभित्रै योजना निर्माणको काम सकिने उनले जानकारी दिए ।
फेवातालको मास्टर प्लान २०५८ सालमा तयार भएपनि त्यसलाई फुकाएर कार्यान्वयन नभएको जिविस कास्कीका पुर्व सभापति पौडेल बताउँछन् । हामीले पहिलो योजना देखि नै चक्रपथ, विमानस्थल, ताल संरक्षण लगाएतका योजनाहरुलाई प्राथमिकताका साथ उठाउँदै आएका थियौं, उनले भने–तर कार्यान्वयनमा सबैको चासो पुग्न सकेन । कार्यक्रममा यसअघिको आवद्यिक योजनाको समीक्षा गरी नयाँ योजना निर्माणको बिषयमा छलफल गरिएको छ । सहभागिहरुले योजना निर्माण सँगै कार्यान्वयनमा बढी जोड दिन आग्रह गरेका छन् । योजना धेरै निर्माण भएका छन्, उनीहरुले भने–तर कार्यान्वयन चित्तबुझ्दो छैन, कार्यान्वयनमा जोड दिनुपर्छ । आबधिक योजनाका केही बुँदाहरु पूरा भएपनि अधिकांश योजना पूरा हुन नसकेको आबधिक योजना निर्माणको जिम्मा पाएको संस्था राष्ट्रिय सर्भिसेस प्रालिका प्रमुख चित्र आचार्यले बताए । आधादेखि १ घण्टासम्म बस्तीबाट सडकसम्म पु¥याउने लक्ष्य पूरा भएको, स्वास्थ्य क्षेत्रको उपलब्धी सन्तोषजनक रहेको, प्राकृतिक सम्पत्तिहरुको संरक्षणमा अझै चासो नपुगेको लगाएतका उनले बताए । जिल्लामा रहेका श्रोत साधनको प्रयोगमा हाम्रो ध्यान पुगेन, उनी भन्छन्–आबधिक योजनालाई दराजमा थन्क्याईयो, फुकाएर कार्यान्वयन गरिएन ।
यस्तै, जलविद्युतमा विस्तार र पहुँच बढाउन नसकेको, महिला बिकास, बाल विकास तर्फका योजनाहरु सन्तोषजनक रहेको, सडक–सडक पुल निर्माण सन्तोषजनक रहेको सहभागीहरुले बताए । सञ्चार क्षेत्रको विकास अत्याधिक धेरै भएपनि गुणात्मक विकासमा जोड नपुगेको उनीहरुको गुनासो छ ।
सहभागी राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले आबधिक योजनाका आधारमा बार्षिक योजना बन्न नसकेका कारण आवधिक योजना सफल हुन नसकेको बताए । आबधिक योजनाको लक्ष्य एकातिर छ, एमाओबादीका प्रतिनिधि बिष्णु पौडेलले भने–जिल्ला योजना अर्कोतिर भयो, कसरी सफल हुन सकिन्छ । लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधी रिक्त भएका कारण पनि योजना कार्यान्वयनमा समस्या भएको उनको भनाई छ । जिल्लामा पछिल्लो समय भौतिक पुर्बाधार तयार भएपनि गुणस्तर कायम हुन सकेको छैन । यस्तै महिला तथा बालबालिकाको क्षेत्रमा समाबेशीका कुरा बढेपनि हिंसाका घटनाहरु अझै बाहिर आउन सकेको छैन । पुर्ब सतर्कता अपनाउन नसकेका कारण प्राकृतिक घटनासँगै क्षति पनि अत्याधिक बढी भएको सरोकारवालाहरुको गुनासो छ ।
आगामी दिनमा योजनालाई कार्यान्वयन तहमा लैजान बस्तुपरक योजना निर्माणमा जोड दिनुपर्ने उनीहरुले बताए । राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. रविन्द्र शाक्यले जिल्लाको सम्भावनाका आधारमा योजना निर्माण गर्न जोड दिए । पूराना भएपनि राम्रा योजनालाई निरन्तरता दिँदै नयाँ योजना निर्माणमा जोड दिनुपर्छ, उनले भने–आबधिक योजनाका आधारमा जिल्ला बिकास योजना निर्माण गर्नुपर्छ, कार्यान्वयनमा बढी ध्यान दिनुपर्छ । सरकारका नीति नियमलाई मध्येनजर गर्दै नयाँ आबधिक योजना निर्माण गरिने स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले बताए । यस्तै आबधिक योजनाको उद्देश्यका रुपमा जिल्लाको नारा समेत परिबर्तन गरिएको छ । यसअघि रहेको कृषि, पर्यटन, रोजगार र पूर्वाधार–कास्की विकासको मुल आधार भन्ने नारालाई परिबर्तन गरी कृषि, पर्यटन, जलश्रोत र पूर्वाधार–समावेशी, दीगो विकास कास्कीको मूल आधार नारा तय गरिएको हो ।