breaking news

कास्कीमा थप ११ वटा झोलुङ्गे पुल बन्दै सामग्री खरिदका लागि टेण्डर प्रक्रिया सुरु

June 3rd, 2015 | by adminabis
कास्कीमा थप ११ वटा झोलुङ्गे पुल बन्दै सामग्री खरिदका लागि टेण्डर प्रक्रिया सुरु
पोखरा र सेरोफेरो
0

प्रकाश ढकाल-कास्कीमा आगामी आर्थिक बर्षभित्र ११ वटा नयाँ झोलुङ्गे पुल निर्माण हुने भएका छन् । जिल्लाका केही विकट गाउँमा ती झोलुङ्गे पुल निर्माण हुन लागेका हुन् । पुल निर्माणका लागि बजेट विनियोजन भएर टेण्डरको प्रक्रिया समेत सुरु भैसकेको छ । ४ वटा पुलका लागि टेण्डर पूरा भैसकेको छ, जिल्ला प्राविधिक कार्यालय कास्कीका ईञ्जिनियर राजु रेग्मीले भने–बाँकी रहेका ७ वटाको पनि अहिले प्रक्रियमै छ, असार १ गते मिति सकिनेछ । ४ वटा पुलको सामान खरिद गर्न ३३ लाख ८६ हजार ठेक्कामा दिईएको उनले जानकारी दिए । यो बर्ष आर्वा विजयस्थित विजयपुरखोला, घान्द्रुक गाविसको मल्क्युखोला, पुम्दीभुम्दीको चिसापानी क्रसपुल, पार्चेको तुटे दधिखोला, घान्द्रुककै कोल्टे भारी र भलामको तुलसी बँगैचामा झोलुङ्गे पुल निर्माण हुन लागेका हुन् भने फेवा पावरहाउसमा रहेको झोलुङ्गे पुल मर्मत गर्न लागिएको छ । यि पुल निर्माण र मर्मतको काम गर्नका लागि मात्रै जिल्ला विकास समिति कास्कीले करिब ३० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । सबैभन्दा धेरै बिजयपुर खोलाको पुल निर्माण गर्न ११ लाख ९९ हजार रुपैयाँ विनियोजन भएको छ ।

news photo
बन्न लागेका अधिकांश पुल विकट गाविसका खोलामा रहेका छन् । त्यहाँ भएका गाउँका स्थानीयको मागलाई ध्यानमा राखेर पुल निर्माण हुन लागेको ईञ्जिनियर रेग्मीले बताए । ईलाका स्तरबाट आएका योजनाहरु नै कार्यान्वयन गर्ने तयारी गरेका हौं, उनले भने–कुनै योजना पनि हामीले आफुखुशी हालेका होईनौं । जिल्ला विकास समितिले पुल निर्माणका लागि जिल्ला परिषद्मा प्रस्ताव राखेको थियो । पुल निर्माणपछि स्थानीयवासीको दैनिकीमा निकै सहज हुने अपेक्षा गरिएको छ । यसअघि  कास्कीमा १ सय ३० वटा झोलुङ्गे पुल निर्माण भइसकेका जिविसका योजना शाखाका कृष्ण खनालले जानकारी दिए । बर्षेनी झोलुङ्गे पुल निर्माण बढ्दै गएको छ, उनले भने–स्थानीयहरुले नै यस्तै माग बढी गर्छन्, योजना कार्यान्वयन गर्नैप¥यो । निर्माण भएका पुलहरुको संरक्षणका लागि जिविसले हेरालो समेत राख्न थालेको छ । सबै पुलमा अहिले हेरालो भर्ति गरेका छौं, खनाल भन्छन्–उनीहरुले महिनामा कम्तिमा २ पटकसम्म सरसफाई गर्छन् र ठूलै समस्या देखिएमा हामीलाई जानकारी गराउँछन् । हेरालोलाई जिविसले प्रतिब्यक्ति बार्षिक ६ हजारका दरले तलब समेत दिने गरेको छ । पछिल्लो समय बार्षिक १५ भन्दा बढी ठाउँबाट झोलुङ्गे पुल निर्माणको माग आउने गरेको जिविसले जनाएको छ ।

खनालका अनुसार सामग्री खरिदमा टेण्डर आह्वान गरिएको छ भने निर्माणको काम उपभोक्ता समिति मार्फत गरिनेछ । घान्द्रुकको मल्क्युखोलामा पुल निर्माण गर्न ५ लाख ४८ हजार, पुम्दीको चिसापानी क्रसपुलका लागि ५ लाख ५५ हजार, पार्चेको दधिखोलाका लागि १२ लाख ८७ हजार, घान्द्रुकको कोल्टेभारी पुलका लागि ४ लाख ८७ हजार, भलामको तुलसी बँगैचा पुल बनाउन २ लाख ९६ हजार र फेवा पावरहाउसमा रहेको पुल मर्मत गर्न २ लाख रुपैयाँ विनियोजन भएको छ । १२० मिटर भन्दा साना पुलहरु निर्माण गर्न जिविसले उपभोक्ता समितिमार्फत काम गर्नुपर्ने प्राबधान छ । सोही प्राबधान अनुसार स्टिल पार्टस् र विम, छड खरिदका लागि टेण्डर अनुसार ठेक्का दिएपनि बाँकी निर्माणका काम भने उपभोक्ता समितिलाई जिम्मा दिने जिविसले जनाएको छ । नयाँ थप हुने पुलहरुमा पनि तत्कालै हेरालो राख्ने जिविसको तयारी छ । पुल बनेपछि हेरालो राखिहाल्छौं, योजना अनुगमन तथा प्रशासकिय अधिकृत कृतनराज पौडेलले भने–हेरालोका कारण पुलको आयु निकै बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *