पोखरा
हेलाको दृष्टिले हेरिने बंगुरपालन पछिल्लो समय ब्यवसायिक बन्दै गएको छ । केही समुदायले परम्परागत रुपमा पाल्दै आएको बंगुर र सुगुँर अहिले भने सबैजसो समुदायका किसानहरुले पनि सहजै पाल्न थालेका छन् । कृषिलाई व्यवहारिक रूपमा कर्मसँग जोड्न सकिए मात्र मुलुकको अर्थतन्त्र बलियो हुने भन्दै नेपाल सरकारले समेत बंगुर मिसन कार्यक्रम नै सञ्चालन गर्न थालेको छ । राज्यले युवालाई आकर्षण गर्ने बिभिन्न कार्यक्रम सार्वजनिक गरेपछि कृषि पेशाप्रति किसानहरु बढी ब्यस्त हुन थालेका हुन् । 
बंगुर पालनका लागि सरकारले नगद अनुदान दिने गरेको छ भने बिगत केही बर्षयता सहकारी मार्फत पनि व्यवसायीक पालन सुरु हुन थालेको छ । यस्तै कास्कीमा पनि सहकारीमा बंगुरपालन कार्यक्रम यो बर्षदेखि सुरु हुँदैछ । जिल्ला पशु सेवा कार्यालयसँगको समन्वयमा यो बर्ष पहिलो पटक कार्यक्रम गर्न लागिएको हो ।
सहकारीमा बंगुरपालन कार्यक्रम अन्तर्गत किसानहरुलाई नगद तथा प्राविधिक सहयोग गर्ने तयारी गरिएको जिल्ला पशु सेवा कार्यालय कास्कीले जनाएको छ । यो कार्यक्रमका लागि ८ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएको कार्यालयका पशु चिकित्सक सुरेशकुमार श्रेष्ठले जानकारी दिए । त्यसमध्ये पाठापाठी खरिदमा २ लाख ५० हजार बिनियोजन भएको छ भने खोर निर्माणका लागि ३ लाख तथा विद्युत र खानेपानी जडान गर्नका लागि ८० हजार रुपैयाँ लगानी गरिने श्रेष्ठले जानकारी दिए । यस्तै दाना खरिदमा पनि ७० प्रतिशतसम्म अनुदान दिनेगरी २ लाख रुपैयाँ विनियोजन भएको छ । यो बाहेक उपचार, खोप तथा परजिवी नियन्त्रण र तालिम सञ्चालन गर्नका लागि पनि शिर्षक छुट्याईएको श्रेष्ठले बताए ।
कास्कीमा अहिले ३ वटा बंगुर पालन सहकारी छ । यसबाहेक १ सयभन्दा बढी बंगुर फार्महरु सञ्चालनमा छन् । तिमध्ये ५५ वटा सहकारी जिल्ला पशु सेवा कार्यालयमा दर्ता भएका छन् । बंगुर तथा सुँगुर उद्योगको प्रवद्र्धन तथा विकासका लागि बंगुर सहकारी पालन कार्यक्रम सञ्चालन भएको जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. राकेश प्रजापतिले जानकारी दिए । यो कार्यक्रमले किसानहरुमा ब्यवसायिकता बढ्ने र मासुको आयात दर घटाउन सकिने बिश्वास लिईएको छ ।
बंगुर बृडर सहकारीका पुर्व अध्यक्ष मिन बहादुर घलेले भने किसानहरुको बिकृत कार्यशैलीका कारण बास्तबिक किसानले सहयोग नपाउने उल्लेख गरे । सरकारी रकम ल्याएर ब्यक्तिगत खर्च गर्ने प्रचलन छ, उनले भने–पारदर्शी भएर काम गर्ने सहकारीलाई मात्रै रकम दिनुपर्छ । अहिले नयाँ कार्यक्रम आएपछि एकजनाको फाराम देखाएर सामुहिक भन्ने र रकम दुरुपयोग गर्ने क्रम बढेको भन्दै उनले सहकारी छनौट गर्ने बेला सचेत हुन पशु सेवा कार्यालयसँग आग्रह गरेका छन् ।
कास्की बंगुरको मासुमा आत्मनिर्भर बनिसकेको छ । आत्मनिर्भर भएपछि कास्कीले निर्यात गर्न थालिसकेको छ । तर बैशाख १२ गतेको महाबिनाशकारी भूकम्प र स्वाईनफ्लुको होहल्लाका कारण अहिले निर्यात निकै घटेको छ । तर अहिले घटेको निर्यात दरलाई बढाउँदै लैजाने र आर्थिक बिकासतर्फ उन्मुख गराउन पहल गर्ने पशु सेवा कार्यालयका पशु विकास अधिकृत शम्भुराज पाण्डे बताउँछन् । यसअघि नै बंगुरको श्रोत केन्द्र बनेको कास्कीबाट देशभर बंगुरको पाठापाठी निर्यात हुन्छ, उनले भने–यसको दर अझै बढाउनुपर्छ र किसानहरुलाई थप आकर्षित गर्न सक्नुपर्छ ।
यहाँ २÷४ वटादेखि १५ सय वटा सम्म बंगुर पाल्ने किसानहरु छन् । बंगुरको उत्पादन अनुसार बिक्रि बितरण हुन नसकेपछि किसानहरु निकै चिन्तित बनेका छन् । पशु सेवा कार्यालयले पनि बंगुरपालनलाई प्रोत्साहित गर्नका लागि बंगुर मिसन कार्यक्रम समेत सञ्चालन गर्दै आएका छ भने थप अनुदानका कार्यक्रम समेत सञ्चालन गर्ने गर्छ ।