पोखरा । राप्रपा नेपाल कास्कीले केन्द्रीय निर्देशन अनुसार कास्कीमा महाभुकम्पबाट पीडितहरुको लागि राहत सामाग्री तथा विद्यालयहरुको भौतिक संरचनाहरुको के कस्तो गतिमा अगाडि बढेको छ भन्ने बारेमा निरीक्षण तथा अनुगमन गरेको छ । केन्द्रीय सदस्य रमेश बहादुर भट्टराईको नेतृत्वमा कास्की जिल्ला अन्तर्गत महाभुकम्पबाट पीडित नागरिक तथा सामुदायिक विद्यालयहरुको विवरण संकलन गर्ने र प्रत्येक नागरिकहरुलाई वर्षा ऋतु सुरु भैसकेको हुँदा कम्तिमा २ बण्डल स्तरीय जस्ता पाता उपलब्ध गराउन र विद्यालय निर्माणमा समेत राज्यद्वारा बचत निकासको लागि दवावमूलक अनुरोध गरेको छ ।

देश चरम संकटमा परिरहेको यस घडीलाई मध्यनजर गर्दै केन्द्रीय कार्यक्रमअनुसार कार्यक्रम गरेको हो ।प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत तथा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदय बहादुर थापामगरलाई ध्यानाकर्षण गराएको थियो । कास्कीमा अहिलेसम्म २ हजार ४ सय ९१ जनाले करीब ८५ लाख बराबरको राहत बुझिसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले जानकारी दिएको पत्रकार समाजा अध्यक्ष सूर्य बाँस्तोलाले बताए ।
त्यसैगरी अनुगमन टोलीले कास्कीको लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेललाई भेटी त्यहाँको विवरण संकलन गरेको छ । विवरण अनुसार लेखनाथमा २ सय ५१ पूर्ण क्षति, ८ सय २ आंशिक र ६ सय २० सामान्य क्षति गरेको बताएका छन् । अनुगमन टोलीमा जिल्ला अध्यक्ष जयलाल पुन, उपाध्यक्ष भोलाजंग सुवेदी, कोषाध्यक्ष धर्मेन्द्र थापा, सहसचिव रञ्जना सेन पौडेल, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग रहनुभएको थियो ।स्मरण रहोस् राप्रपा नेपाल कास्कीले लमजुङ्गको इलम पोखरी, गोर्खाको भोर्लाङ्ग, कास्कीको ल्वाङघलेल, काहुँ लगायतका ठाउँमा राहत वितरण गरिसकेको छ ।