पोखरा-कास्की जिल्ला साक्षर घोषणा भएको छ । जिल्ला अनौपचारीक शिक्षा समिति कास्कीले बुधबार भब्य कार्यक्रमको आयोजना गरी जिल्लालाई साक्षर घोषणा गरेको हो । शिक्षा मन्त्री चित्रलेखा यादवले कास्कीलाई नेपालको १४ औं जिल्लाको रुपमा साक्षर जिल्ला घोषणा गरेकी थिईन् । यो पश्चिमाञ्चलमा भने सातौं जिल्ला हो । यसअघि तनहुँ जिल्ला नेपालकै १३ औं तथा पश्चिमाञ्चलको छैठौं जिल्लाको रुपमा घोषणा भएको थियो । कास्की जिल्लामा रहेका १५ देखि ६० बर्ष उमेरसमुहका निरक्षर मध्ये ९६.३ प्रतिशत नागरिक साक्षर भएकाले साक्षर घोषणा गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 
२०६७÷६८ मा गरिएको सर्भेक्षण अनुसार कास्कीमा ३३ हजार ६ सय ७५ जना निरक्षर भेटिएका थिए । ति मध्ये २५ हजार १ सय ८ महिला र ८ हजार ५ सय ८७ जना महिला थिए । कार्यक्रम सुरु भएपछि अहिलेसम्म जिल्लाका ३१ हजार ८ सय ८७ जना साक्षर भैसकेका छन् । जसमध्ये महिला ९६.५ र पुरुष ९५.९ प्रतिशत छन् । साक्षर जिल्ला घोषणाका लागि निरक्षरहरुलाई साक्षर बनाउन कक्षा मोडालिटि र ईच वान टिच वान कार्यक्रम सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी अम्बीका प्रसाद आचार्यले जानकारी दिए । हामीले बिद्यार्थी परिचालन गरेर यो अभियान सफल बनाएका हौं, आचार्यले भने–एक निरक्षर एक बिद्यार्थी अभियान निकै प्रभावकारी रह्यो, यसैका फलस्वरुप हाम्रो लक्ष्य पूरा भयो । कास्कीलाई शिक्षितहरूको जिल्लाको रूपमा परिचित गराउन आर्थिक बर्ष २०६५÷६६ देखि नै साक्षर अभियानलाई तीव्र पारिएको सहायक जिल्ला शिक्षा अधिकारी तथा साक्षरता कार्यक्रमका फोकल पर्सन गगन थापा मगरले जानकारी दिए । हाम्रो कार्यक्रममा बिद्यार्थीको भूमिका ठूलो थियो, थापाले भने–विद्यार्थीहरुकै सक्रियताका कारण जिल्लाको साक्षरता दर बढेको हो, यसलाई अन्य जिल्लामा पनि विस्तार गर्नु जरुरी छ । कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीले एक जना निरक्षरलाई साक्षर बनाएबापत स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षामा १० अकं दिने ब्यवस्था सरकारले नै गरेको थियो । यही कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले यो बर्ष पनि अनौपचारिक शिक्षा केन्द्र मार्फत ७ हजार जना निरक्षरलाई साक्षर बनाईएको थियो ।
घोषणा गर्नु सबैभन्दा ठूलो चुनौति थियो, स्थानीय विकास अधिकारी तथा जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष तारानाथ अधिकारीले भने–अब हामीसँग यसलाई जोगाई राख्न र अझ थप गर्ने चुनौति छ । यसलाई अझै थप गरेर पूर्ण साक्षरता तर्फ उन्मुख गराउनुपर्ने उनको सुझाव छ । यसका लागि सबैले सहयोग गर्नुपर्ने अधिकारीले बताए । जिल्लाका ५ हजार ४ सय जनालाई साक्षरोत्तर कक्षा सञ्चालन गर्नका लागि आगामी बर्षका लागि थप बजेट समेत प्राप्त भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लाका नागरिकलाई पूर्ण साक्षर बनाउन शिक्षा मन्त्रालय, अनौपचारिक शिक्षा केन्द्र, जिल्ला शिक्षा कार्यालय र सामुदायिक अध्ययन केन्द्रहरूको पहलमा साक्षरता कक्षाहरू चलाइएको थियो । अन्तरराष्ट्रिय मापदण्डअनुसार नगरपालिका र गाविसमा रहेका १५ देखि ६० बर्षसम्मका ९५ प्रतिशत निरक्षर साक्षर भएपछि साक्षर जिल्ला घोषणा गर्ने प्रावधान छ । यस्तै १०० प्रतिशत नै साक्षर भएमा पूर्ण साक्षर घोषणा गर्न सकिनेछ । यसअघि १५ देखि ४५ बर्ष उमेर समूहलाई प्रौढ साक्षरता बर्ष मानिएपनि २०६५ देखि भने १५ देखि ६० बर्षसम्मलाई आधार मानेर विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो ।
साक्षर जिल्ला घोषणा गर्ने अभियान सुरु भएदेखि सबैभन्दा पहिले साविकको हेमजा गाविस २०७० भदौ १३ गते साक्षर गाविसको रुपमा घोषणा भएको थियो । सबैभन्दा पछि जिल्लाका २ नगरपालिकालाई (लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिका) क्रमशः २८ र २९ गते घोषणा गरिएको थियो । कार्यक्रममा शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षानै विकासको पूर्वाधार भएकाले सबै निरक्षरलाई साक्षर बनाउन सरकार लागि परेको बताईन् । शिक्षासंग देश विकासको मुद्धा जोडिएकाले साक्षरता अभियानलाई अझ प्रभाबकारी बनाउन उनले आग्रह समेत गरेकी छन् । मानव विकास सुचकांकमा अग्रस्थानमा रहेको कास्की साक्षर जिल्ला घोषणा हुनु सबृद्धिको संकेत हो, उनले भनिन्–अब यसलाई निरन्तरता दिएर पूर्ण साक्षर बनाउन सबै लाग्नुपर्छ । शिक्षा मन्त्रालयका सचिव विश्व प्रकाश पण्डितले पनि नेपालको साक्षरता ९० प्रतिशतमा रहेकाले तोकिएको समय सन् २०१५ भित्रै बाकी निरक्षरलाई पनि साक्षर बनाई साक्षर नेपाल घोषणा गरिने बताए । शिक्षाको गुणस्तर बढाउनुपर्ने खाचो औल्याउदै उनले प्राविधिक शिक्षामा बढी जोड दिईने उल्लेख गरे । ‘एमएम पास गरेर विदेश जाने होईन एसएलसी पास गरेर दैशमै रोजगारी पाउने शिक्षा हुनुपर्छ ।’ उनले भने ।
अनौपचारिक शिक्षा केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले अहिलेसम्म देशभरका एक हजार भन्दा वढी गाविस एबं १४ जिल्ला साक्षर घोषणा भएकाले निरक्षरको दर घट्दै गएको बताए । साक्षर घोषणा गर्न सफल भएकोमा कास्की जिल्लालाई धन्यवाद दिदै उनले बाकी निरक्षरलाई पनि खोजी खोजी साक्षर बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा साक्षरता जिल्ला बनाउनका लागि सहयोग गर्ने विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।