मुस्ताङ—मुलुकमा ११ घन्टा लामो विद्युत्भार कटौती भए पनि हिमाली जिल्ला मुस्ताङको लोमान्थाङवासीले भने त्यस्तो समस्याको कुनै अनुभूति गर्नु परेको छैन ।
गाउँ नजिकै रहेको सोलार प्यानलबाट उनीहरुले २४सैँ घन्टा विजुली उपभोग गर्न पाएपछि विद्युत्भार कटौतीको कुनै समस्या झेल्न नपरेका हुन् ।
गत भदौमा चीन सरकारको अनुदानमा ७० किलोवाट क्षमताको सोलार प्यानल जडान गरेपछि लोमान्थाङका १९० घरधुरीले २४सैँ घन्टा बिजुली उपभोग गरिरहेका छन् । यसअघि अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) र स्थानीयवासीको श्रमदानमा निर्माण गरिएको २९ किलोवाटको साना लघुजलविद्युत्बाट उनीहरुले दैनिकी चलाउँदै आएका थिए । 
बेलुकी ६ देखि १० बजेसम्म र बिहान ४ देखि ७ बजेसम्म मात्रै बिजुली उपभोग गर्दै आएका स्थानीयवासी चौबिसैँ घन्टा उज्यालो पाएपछि हर्षित भएको गाविस सचिव ज्ञानेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार चीनसँग सीमा जोडिएका जिल्लामा आवश्यकताका आधारमा शिक्षा, स्वास्थ्य, विद्युत् र यातायातमा सहयोग गर्ने कार्यक्रमअन्तर्गत उक्त सोलार प्यानल जडान उपलब्ध गराएका हुन् ।पहिला साना क्षमताको सोलार प्यानलबाट पर्याप्त मात्रामा विद्युत् उत्पादन नहुने भए पनि अहिले दुबै जडान हुँदा खाना पकाउन र हिटर चलाउनसमेत पुग्ने भएको छ । जाडोयाममा २४सै घन्टा बिजुली उपभोग गर्न पाउनु आफूहरु भाग्यमानी भएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले बताए।