पोखरा
नागरिक समाज पोखराले पोखरामा तत्काल ब्यवस्थित बसपार्क निर्माणको माग गर्दै पोखरा उपत्यका नगर विकास समितिको ध्यानाकर्षण गराएको छ । समाजले आईतबार समितिका अध्यक्ष प्रकाशमोहन खनाललाई भेट गरी बसपार्क निर्माणको लागि ध्यानाकर्षण गरेको हो । पोखरामा ब्यवस्थित बसपार्क निर्माणका लागि २०३२ सालमा २०५ रोपनी जमीन अधिग्रहण भएको थियो । तर बसपार्क निर्माणका लागि सम्बन्धित निकायले चासो नदिएका कारण अहिलेसम्म निर्माण प्रक्रिया सुरु हुन सकेको छैन । अहिलेसम्म उपत्यका नगर विकास समितिमा २० जना अध्यक्षहरु नियुक्त भैसकेका छन् । सबै अध्यक्षहरुले बसपार्क निर्माणको एजेण्डा अगाडी सारेपनि ठोस काम भने हुन सकेको छैन । 
समाजले बसपार्क निर्माणसँगै जलसम्पदा, सार्वजनिक महत्वका चौर र पर्ती जग्गाहरु संरक्षण, पर्यटन बसपार्कको ब्यवस्थापन, पोखरा ७ मा रहेको महिला सुरक्षा गृह गैर सरकारी संस्थाको प्रभाव नपर्ने गरी महिला तथा बालबालिका कार्यालयलाई हस्तान्तरण गर्ने सहित १३ बुँदे माग गरेको छ । यस्तै अबैध रुपमा दर्ता भएका भूमाफियाका संघ संस्थाहरु कब्जामा ल्याएर विक्रि भएका जग्गा फिर्ता ल्याउन समाजको माग छ । समाजका अध्यक्ष राम बहादुर पौडेलले पोखरा उपत्यकालाई अन्तराष्ट्रिय गन्तव्य बनाउनको लागि यहाँका प्राकृतिक सम्पदाहरुको संरक्षण गर्नुपर्ने बताए । पोखरा उपत्यकालाई अन्तराष्ट्रिय गन्तव्यस्थलका रुपमा विकास गर्न प्राकृतिक सम्पदाहरु संरक्षण गर्नुपर्छ, उनले भने–यसको जिम्मेवारी सरोकारवालाले लिनुपर्छ ।
ध्यानाकर्षण पत्र बुझ्दै पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश खनालले पोखराको विकासको लागि सबै संघसस्थाको भुमिका महत्वपुर्ण हुने भएकाले सहयोग गर्न सबैलाई अनुरोध गरे । पोखराको विकास सबैको चासोको बिषय हो, उनले भने–म यो बिषयमा प्रतिबद्ध छु, सँधै लागिरहनेछु । नागरीक समाज पोखराले यसअघि पनि पोखरा उपमहानगरपालीकालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।