breaking news

नाकाबन्दीले पोखराका मेला महोत्सव प्रभावित

November 17th, 2015 | by adminabis
नाकाबन्दीले पोखराका मेला महोत्सव प्रभावित
पोखरा र सेरोफेरो
0

आविष्कार संवादददाता पोखरा -

भारतीय नाकाबन्दीको मार प्रायः सबै क्षेत्रमा परेको छ । सर्वसाधारणदेखि उच्च पदस्थ ब्यक्तिहरु पनि यसको मारमा परेका छन् । नाकाबन्दीको प्रभावले दैनिक जीविका चलाउन पनि धौधौ पर्न थालेको छ । एकातिर मुल्य बृद्धी र अर्कोतिर कृत्रिम अभाव सिर्जना । यो सबैको चोट सर्वसाधारणले खेप्नुपर्छ ।mahotsab file foto

यस्तै प्रभावित भएको अर्को क्षेत्र हो पोखराको मेला महोत्सव । बर्षेनी दर्जनौं मेला महोत्सव हुने पोखरामा यो बर्ष निकै कम हुने संकेत देखिएको छ । यदि भयो भनेपनि समय एउटै हुन सक्ने सम्भावना छ । पुष्प ब्यापार मेला, औद्योगिक ब्यापार मेला, लेखनाथ महोत्सव, पोखरा महोत्सव, सडक महोत्सव लगाएतका महोत्सवहरुमा नाकाबन्दीको प्रत्येक्ष प्रभाव पर्ने देखिन्छ । हरेक बर्षको तिहार अघि हुँदै आएको पुष्प ब्यापार मेला अहिले भएन । यो समयमा फुलको उत्पादन भन्दा ढुवानी बढी मुल्य पर्ने र किसानलाई मर्का पर्ने भन्दै मेला आयोजना नगरिएको फ्लोरिकल्चर एशोसियसन अफ कास्कीका अध्यक्ष दयाकुमार द्धाले जानकारी दिए ।

यस्तै पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर १० देखि २० गतेसम्म पोखरामा आयोजना गर्ने राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७२ पनि अनिश्चितकालको लागि पर धकेलिएको छ । संघका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको २१ औँ बैठकले मेला अनिश्चितकालको लागि पर सार्ने निर्णय गरेको महासचिव रवीन्द्रबहादुर प्रजुले जानकारी दिए । संघले वर्तमान विषम परिस्थितिका कारण मेला पर सार्नु परेको जनाए पनि सीमामा जारी अवरोध र भारतको अघोषित नाकाबन्दीले सृजना गरेको विषम परिस्थितिलाई ध्यान दिएरै मेला पर धकेलिएको हो । पोखरा उद्योग वाणिज्य संघका महासचिव प्रजुका अनुसार स्थिति सहज भएपछि मेला आयोजना हुनेछ ।

यसअघि लेखनाथ उद्योग बाणिज्य संघले मंसिर २४ देखि पुष ५ सम्म गर्ने तय गरेको लेखनाथ महोत्सब पनि अर्को निर्णय नभएसम्मको लागि स्थगित गरी पछि सार्ने निर्णय गरेको थियो । मेलाको आगामी मिति लेखनाथ उद्योग वाणिज्य संघसँगको छलफलपछि तय गरिने उनले जनाए । कास्कीमा रहेका दुई उद्योग वाणिज्य संघले यस अघि आपसी समझदारीमा छुट्टाछुट्टै समयमा मेला गर्ने घोषणा गरेका थिए ।यो बर्ष सडक महोत्सव समेत प्रभावित हुनेछ । हरेक अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना हुने महोत्सव सञ्चालन नै भएपनि अघिल्ला बर्षहरुमा जस्तो पर्यटकको चाप नहुने आयोजक रेष्टुरेण्ट तथा बार एशोसियन रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए । अघिल्ला बर्षहरुमा सडक महोत्सवकै लागि भएपनि पर्यटकहरु ओईरिन्थे, उनी भन्छन्–तर यो बर्ष स्थलमार्ग र हवाई मार्ग कतैबाट पनि पर्यटक आउने संकेत देखिएन ।  यसपछि सञ्चालन हुने मेला महोत्सवहरु पनि निकै प्रभावित हुने सरोकारवालाहरुले बताएका छन् । पोखरालाई मेला महोत्सव धेरै हुने शहरका रुपमा चिनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *