पोखरा
भारतले लगाएको अघोषित नाकाबन्दीका कारण पोखरा लगाएत देशभर पेट्रोलियम पदार्थको चरम अभाव भएको छ । अभाबपछि वितरणमा सहज बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले मुख्य अत्यावश्यक सवारीलाई मात्रै पेट्रोलियम पदार्थ दिने निर्णय गरेको छ । कास्की प्रशासनले अत्यावश्यक पेट्रोलियम पदार्थ बितरणको लागि पोखराका चार पेट्रोलपम्पलाई तोकेको छ भने अत्यावश्यक सेवाको लागि दिईने तेल बितरणको मात्रा समेत तोकि सकिएको छ । 
अत्यावश्यक सेवाको लागि शसस्त्र प्रहरीले सञ्चालन गरेको कालिका पेट्रोलपम्प मालेपाटन, नेशनल ट्रेडिङको पेट्रोलपम्म पृथ्बीचोक, रानीपौवा आयल स्टोर्स रानीपौवा र पश्चिमाञ्चल आयल स्टोर्स लेखनाथबाट पेट्रोलियम पदार्थ बितरणको ब्यबस्था मिलाएको बुधबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
तोकिएको पेट्रोलपम्पबाट सुरक्षा निकायका सवारीलाई आवश्यकता अनुसार, अस्पताल र सञ्चारगृह सञ्चालनको लागि तीन दिनलाई आवश्यक पर्ने, दुध बोक्ने ट्यांकरको लागि ४० लिटर, फोहोर बोक्ने गाडीलाई ३० लिटर, एम्वुलेन्स र शब वाहनलाई एक पटकमा २० लिटर, नगर क्षेत्रभित्रका दुध, पानी बोक्ने साना गाडीलाई २० लिटर तथा दमकलको लागि आवश्यकता अनुसार तेल उलपब्ध गराउने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्की प्रशासनले बुधबार देखि नै निजी तथा भाडाका सवारी साधनलाई तेल दिन रोक लगाएको छ । जसले गर्दा विहीबार पोखरमा सार्वजनिक यातायात कम चल्लने देखिएको छ ।
पेट्रोलियम पदार्थको अभावका कारण देशभर सञ्चालन हुने सवारीको संख्या ८० प्रतिशत घटिसकेको छ । पेट्रोलियम अभाव भएपछि सरकारले पनि जोर विजोर प्रणाली अनुसार सवारी सञ्चालन गर्न निर्देशन जारी गरिसकेको छ । अहिले नीजि सवारी साधन भने पोखरामा निकै कम मात्रै गुडेका छन् ।