breaking news

निर्यात भन्दा आयात बढी अझै आधा आपुर्ति जिल्ला बाहिरबाटै

September 6th, 2015 | by adminabis
निर्यात भन्दा आयात बढी अझै आधा आपुर्ति जिल्ला बाहिरबाटै
पोखरा र सेरोफेरो
0

पोखरा

बार्षिक रुपमा सरकारले माछा विकास कार्यक्रम सञ्चालन गरेपनि कास्कीमा अझै जिल्लाको मागअनुसार माछा उत्पादन हुन सकेको छैन । कास्कीमा अहिले करिब १ सय हेक्टर जमिनमा माछापालन हुँदै आएको छ । जिल्लामा मत्स्यपालनलाई ब्यवसायीक बनाउन गत बर्षदेखि मध्येपहाडी जिल्ला क्षेत्र विकास आयोजना सुरु भएको छ । जिल्लामा रहेका मत्स्यपालक किसानहरुलाई ब्यवसायीक बनाउन र आयआर्जनमा बृद्धी गर्ने उद्देश्यले कार्यक्रम सुरु भएको हो । तर यो कार्यक्रम खासै प्रभावकारी नभएको कार्यालयका वरिष्ठ मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले बताए । machcha

गत बर्ष नेपाल सरकारले जिल्लाको ५ हेक्टर क्षेत्रफलमा यो कार्यक्रम लागू गर्ने तयारी गरेको थियो । तर किसानले चासो नदिएका कारण ३ हेक्टर क्षेत्रफलमा मात्रै कार्यक्रम सञ्चालन हुन सकेको न्यौपाने बताउँछन् । कार्यक्रममा किसानले खासै चासो दिएनन्, न्यौपाने भन्छन्–२ हेक्टरका लागि कसैको निवेदन नै परेन, परेको पनि पछि सम्झौता गर्न आएनन् । गत बर्षको कार्यक्रम सफल नभएपनि सरकारले यो बर्ष समेत करिब ३ हेक्टर क्षेत्रफलमा माछा विस्तार कार्यक्रम सञ्चालन गर्दैछ ।

जिल्ला कृषि विकास कार्यालयले यो कार्यक्रम मार्फत १ रोपनी क्षेत्रफलमा पोखरी निर्माण गर्नका लागि १० हजार रुपैयाँ अनुदान दिनेछ । पोखराको जग्गा महंगो भएको र सानो जग्गामा गरिएको माछापालनबाट फाईदा नहुने भएकाले किसानको आकर्षण त्यत्ति नभएको जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेश प्रसाद कोईरालाले बताए । कास्की जिल्लालाई माछा उत्पादनमा आत्मनिर्भर बनाउन लेखनाथ, पोखरा, सादिर्दोला, माछापुच्छ«्रे लगायतका ठाउँमा व्यवसायीक मत्स्य उत्पादन सुरु भएको छ । अहिलेसम्म करिब १०० हेक्टर भन्दा बढी क्षेत्रफलमा माछापालन गरिसकिएको कास्कीमा यो बर्ष पनि थप विस्तार गर्ने तयारी गरिएको छ । गएको वर्ष माछा बिक्रिबाट कास्कीमा १५ करोड रुपैयाँ भन्दा बढी आम्दानी भएको थियो ।

कास्कीमा कार्प, सिल्भर, रेन्बो ट्राउट लगाएयत १२ प्रजातिका माछाहरु ब्यवसायीक रुपमा पालिँदै आइएको छ । करिब ४ सय जना किसानहरु माछापालन ब्यवसायमा संलग्न छन् । कास्कीमा बार्षिक ५ सय मेट्रिक टन माछा उत्पादन हुन्छ । तर जिल्लामा मागअनुसार उत्पादन भने हुन सकेको छैन । जिल्लाभर १ हजार मेट्रिक टन माछाको माग हुने भएपनि कास्कीको उत्पादनले आधा माग मात्रै पूरा गर्न सक्ने मत्स्य अधिकृत प्रभात न्यौपानेले बताए । उत्पादित माछा सबै पोखरामै खपत हुन्छ, न्यौपाने भन्छन्—अपुग माछा बाहिरी जिल्ला र भारतबाट पनि आयात हुन्छ । अन्य माछा अपुग भएपनि ट्राउट माछामा भने कास्की आत्मनिर्भर छन् ।

जिल्लामा गत बर्ष मात्रै ५५ मेट्रिक टन ट्राउट माछा उत्पादन भयो । जिल्लाको माग भन्दा बढी उत्पादन भएकाले बजारीकरण गर्न निकै समस्या भएको माछापालक किसानहरु बताउँछन् । यहाँ उत्पादन भएको माछा काठमाण्डौं, चितवन, भारत र अन्य तेश्रो देशमा समेत निर्यात हुँदै आएको छ । ट्राउट माछाका लागि नेपालकै सबैभन्दा ठूलो फार्म पनि कास्कीमा नै छ । क्षेत्रद्धिप मत्स्य उत्पादन तथा अनुसन्धान केन्द्र नेपालकै सबैभन्दा ठूलो माछा फार्मको रुपमा सूचिकृत भएको छ । क्षेत्रद्धीपसँगै गण्डकी, मर्दीहिमाल, मदीखोला, माछापुच्छ«े लगाएतका ठूला फार्महरुमा पनि ट्राउट माछा उत्पादन हुन्छन् ।

माछापालन व्यवसाय प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालयले युवा लक्षित कार्यक्रमलाई पनि प्राथमिकतामा राखेर सञ्चालन गर्दै आएको छ । जिल्लामा माछापालन गर्न इच्छुक व्यक्तिले बुझाएको निवेदनअनुसार प्राविधिकसहितको टोलिले अनुगमन गर्ने र उपयुक्त भनि निर्धारण गरेमा युवा लक्षित कार्यक्रममा छनौट गरिने कृषि विकास कार्यालय कास्कीका प्रमुख कृषि विकास अधिकृत रमेश कोइरालाले बताए । कार्यक्रममा छनौट भएका युवा किसानलाई ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराउने कोइरालाले जानकारी दिए । कास्कीलाई मत्स्यपालनका लागी महत्वपूर्ण जिल्ला मानिन्छ । जिल्लामा रहेका ३ ठूला तालहरु फेवा, बेगनास र रुपामा मात्र मत्स्य उत्पादन हुँदै आएका छन्, कोईराला भन्छन्—तालतलैयाले जिल्लाको करिव १०३६ हेक्टर ओगटेको छ, चासो दिने हो भने साना तालहरु पनि उपभोग गर्न सकिन्छ । सबै तालहरु प्रयोग गर्ने हो भने जिल्लाको कुल मत्स्य उत्पादनमा पनि बृद्धि गर्न सकिने कोईरालाले बताए ।

जिल्लाको सार्दिखोला र घान्द्रुकलाई ट्राउट माछापालनको लागि उत्कृष्ट क्षेत्रको रुपमा प्रमाणित गरिसकिएको छ । कास्कीमा पानीको श्रोत धेरै भएकाले पोखरी निर्माण गरी माछापालन गर्न सकिनेछ भने धान खेतमा समेत माछापालन गर्न सकिने संभावना बढी रहेको कृषि विकास कार्यालयले जनाएको छ । कास्कीमा प्राकृतिक रुपमै २६० मेट्रिक टन माछा उत्पादन भैरहेको छ । जिल्ला कृषि विकास कार्यालय, मत्स्य अनुसन्धान केन्द्र, उद्योग वाणिज्य संघ आदि संघसंस्थाले प्रत्येक वर्ष विभिन्न जातका माछाका भुराहरु छाडी मत्स्य उत्पादनलाई बढावा दिने काम पनि गर्दै आएका छन् । पोखराको फेवातालमा सर्वप्रथम सन् १९७८ मा देशकै पहिलोपटक केजमा मत्स्यपालन सुरु भएको थियो ।

त्यसपछि निरन्तर रुपमा फेवा, वेगनास र रुपातालमा केजमा मत्स्यपालन भैरहेको कार्यालयले जनाएको छ । हेमजा र आर्वाविजयमा धानखेतमा माछापालन गर्ने गरिन्छ भने रेस वेमो पनि हेमजा र घाचोकमा उत्पादन हुन्छ । पामे, पोखरा र लेखनाथमा ईन्क्लोजर, केज र पोखरीमा माछापालन गरिन्छ । पोखरीमा माछापालन गर्नेहरु बढी छन्, कोईराला भन्छन्—जिल्लाभर करिब ४० हेक्टर पोखरीमा माछापालन हुन्छन्, यसबाट ९० मेट्रिक टन उत्पादन हुन्छ । यस्तै केजमा गरिएको माछापालनबाट ११२, इन्क्लोजरबाट ५०, रेसवे बाट ३० र धानखेतबाट पनि करिब १ मेट्रिक टन उत्पादन हुने गरेको कार्यालयलको तथ्याकं छ । खपौंदी, वेगनास र रुपातालमा भने मत्स्य सहकारी मार्फत नै माछापालन हुँदै आएको छ । खपौंदीमा हर्पन फेवा मत्स्य सहकारी, बेगनासतालमा बेगनास मत्स्य सहकारी र रुपातालमा रुपाताल पुनरस्थापना तथा मत्स्य सहकारी संस्था गठन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *