धन बस्नेत पोखरा
‘नेपालमा धेरै संघ दर्ता छन् । आधा भन्दा बढी निष्क्रिय छन् । केही केवल विदेश भ्रमणको लागि मात्रै दर्ता गरिएको छ । विदेश गएर आए भनेपछि मात्रै संघ रहेको जानकारी हुन्छ । त्यस्ता केवल विदेश भ्रमण गर्ने संघलाई आईतबारदेखि खारेजी प्रक्रियामा अगाडि बढ्छु ।’ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले शनिबार पोखरामा भने—‘खेलकुल गतिविधि शून्य रहेका झोले संघलाई खारेज गर्न प्रतिबद्ध छु ।’ 
उनले झोले संघ केवल आफना आफन्तलाई विदेश पठाउने मेनपावर जस्तै बनेकोले पनि त्यस्तो विकृति हटाउन पनि त्यस्ता संघलाई खारेज गर्नुपर्ने दोहो¥याएका हुन् । ‘सबै संघ खेलकुद गतिविधि गर्दै सक्रिय बन्नुपर्छ ।’ नेपाल ह्याण्डबल संघको तेस्रो अधिवेशनको उदघाटन गर्दै भने—‘अन्यथा खेलकुदको स्वर्णयुगको सपना पुरा हुन सक्दैन् ।’
सदस्य सचिव विष्टले खेलकुदबाटै नयाँ नेपाल निर्माणको कार्य थाल्नुपर्नेमा जोड दिए । मंसिरमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिताको सन्र्दभमा उनले ‘राष्ट्रिय एकताको लागि पनि खेलकुद’ भन्ने नारासहित राष्ट्रियखेलकुद प्रतियोगिता सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठले खेलकुद अब नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने भन्दै संविधानमा उल्लेख भए बमोजिम सात प्रदेशमा निर्माण भएका भौतिक पुर्वाधार अनुसार एकेडेमी बनाउँदै लैजानुपर्नेमा जोड दिए ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले मेनपावर जस्तो बनेका संघलाई खारेज गरी अन्य संघलाई सक्रिय बनाउने तर्फ ध्यान दिनुपर्ने खाँचो औंल्याए । उनले पोखरालाई स्पोर्टस टुरिजमको हव बनाउन समेत सुझाव दिए । नेपाल ओलम्पिक कमिटिका सदस्य चतुरानन्द बैद्य, राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्त गुरुङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचन, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य तथा भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाट, लगायतले सम्बोधन गरेका थिए ।
तेस्रो अधिवेशनमा देशका ३५ जिल्लामध्ये ३१ जिल्लाबाट आएका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता छ । चार वर्षे कार्यकालको लागि नयाँ नेतृत्वको चयन हुने छ । चारवर्षे कार्यकालको लागि तेजबहादुर गुरुङकै अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बरिष्ठ उपाध्यक्षमा काठमाडौंका रामकृष्ण केसी रहेका छन् । महासचिवमा सन्देश रेग्मी सर्वसम्मत भएका छन् । उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य पदमा निर्वाचन हुने भएको छ । शनिबार राती अवेरसम्म सर्वसम्मतको प्रयास गरेपनि नभएपछि निर्वाचन प्रक्रियामा पुगेको हो ।