धन बस्नेत, पोखरा / पोखरा र आसपासका क्षेत्र प्रकृतिका बरदान हुन । तर भौतिक पुर्वाधारको अभाव छ । भौतिक पुर्वाधारकै अभावले पर्यटन प्रवद्र्धनमा प्रभावकारी हुन सकेको छैन् ।
पर्यटन विकासको लागि विना परियोजना अगाडि बढेको गुनासो सरकारी निकायले गर्दै पर्यटन व्यवसायीलाई योजना र नीति ल्याउन आवश्यक छलफल गर्नुपर्ने खाँचो औंल्याइएको छ । क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले प्रकृतिले भरिएको पोखरा र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न भौतिक पुर्वाधार निर्माण अत्यावश्यक भएको भन्दै प्रस्तावनासहित छलफलमा आउन आग्रह गरेका छन । ‘भौतिक पुर्वाधारको लागि पर्यटन व्यवसायीलाई प्रस्तावनासहित आउन आग्रह गरेका छौं,’ उनले पश्चिमाञ्चल होटल संघको छैठौं वार्षिक साधारणमा शुक्रबार सम्बोधन गर्दै भने—‘सरकारी निकाय छलफल गरेर निष्कर्ष निकाल्दै अगाडि बढन कुनै कन्जुस्याँई गरिदैन् ।’ उनले पर्यटन प्रवद्र्धनको लागि सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिए । पर्यटन प्रवद्र्धनको लागि व्यवसायीले पर्यटकीय गन्तव्य क्षेत्रलाई आकर्षित र सुरक्षित भएको सन्देशसहित मार्केटिङ गर्नुपर्ने स्पष्ट पारे ।
पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष प्रकाश खनालले पोखराको गुरुयोजनाको लागि प्रारम्भिक छलफलको चरणमा भएको उल्लेख गर्दै गुरुयोजना निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्न भौतिक पुर्वाधार विकासलाई प्राथमिकता दिईने बताए । ‘एक्याप अन्तर्गतका १७ वडा गाविसलाई ग्रामीण पर्यटन प्रवद्र्धन गर्न होम स्टे र पर्वतीय पर्यटनको अवधारणा अगाडि सारिएको छ ’उनले भने—‘बजार क्षेत्रमा भने अन्य पुर्वाधार निर्माण गरेर प्रवद्र्धन गरिने योजना छ ।’
प्रकृतिले दिएको सम्पदालाई मात्रै आधार मानेर पर्यटनको विकास नहुने भन्दै अध्यक्ष खनालले भौतिक पुर्वाधारको पनि विकासले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । उनले पोखरा र लेखनाथ क्षेत्रमा भएको तालहरु संरक्षण गर्दै दीगो पर्यटन विकासको लागि अग्रसर बन्नुपर्नेमा जोड दिए । अध्यक्ष खनालले फेवाताल संरक्षण गर्न पोखराका सम्पूर्ण होटल व्यवसायीलाई ‘डोनेसन बक्स’ राख्न सुझाव दिए ।
पर्यटनको पुनर्जागरणका लागि व्यवसायीहरु लागिरहेको तर यसमा सरकारी पक्षको पनि उत्तिकै सहयोग आबश्यक रहेको संघका अध्यक्ष भरतराज पराजुलीले बताए । कार्यक्रममा पराजुलीले विगत वर्ष जे जस्तो भए पनि व्यवसायीहरु सन् २०१६ लाई पर्यटन र अन्य हिसावले समेत सफल बनाउन सकारात्मक शोचका साथ अगाडि बढेको बताए ।
रफ गाइड नामक वेबसाइटले नेपाललाई विश्वका उत्कृष्ट १० गन्तव्य भित्र पहिलो स्थानमा राख्नु राम्रो पक्ष भएको बताउँदै उनले भारतीय नाकाबन्दी पनि अब विस्तारै खुल्ने संकेत मिलेको बताए । संकटको समयमा पनि व्यवसायीहरु धैर्यता, अनुसासन र जिम्मेवारीपूर्वक अगाडि बढेको भनाई उनको थियो । सौर्य बत्ती जडान, सीसीटीभी जडान, फेवा संरक्षण र सामाजिक उत्तरदायित्वका अन्य काममा संघ जिम्मेवार रुपमा लाग्दै आएको उनले स्मरण गराए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले निजी क्षेत्र तथा पर्यटन व्यवसायीले मुस्ताङको कोरला नाका खोल्न दवाव दिनुपर्नेमा जोडदिए । यसैगरी रेबान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रलाई सरकारी निकायले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको भन्दै अब सरकारी निकाय र पर्यटन व्यवसायी समन्वय गरेर अगाडि बढ्ने स्पष्ट पारे । केही दिन अघिमात्रै रेबानले पोखरा सडक महोत्सवको अवसरमा आतिसबाजी गरेको थियो । कास्की जिल्ला पटका मुक्त जिल्ला घोषणा गरिएको भन्दै आतिसबाजी नगर्न जिल्ला प्रशासन कार्यालय कास्कीले रेबानलाई पत्रचार समेत गरेको थियो ।
पश्चिमाञ्चल होटल संघका प्रथम उपाध्यक्ष विकल तुलाचनले अहिलेको बर्तमान अवस्थाले पर्यटनको अवस्था आकाशको फल जस्तै भएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, टान पश्चिमाञ्चल संघका अध्यक्ष रामचन्द्र शर्मा, पुर्व अध्यक्ष सुन्दरकुमार श्रेष्ठ एवं संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले लगायतले सम्बोधन गरेका थिए ।