आविष्कार संवाददाता
पोखरा
पोखरामा अवैध सवारी अनुमति पत्र(लाईसेन्स) बनाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले एक ड्राइभिङ इन्स्टिच्युट र छपाई काम गर्ने संस्थालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
उदयपुरको भलायडाँडा स्थायी घर भएर पोखराको रामबजारमा मुनाल ड्राईभिङ इन्स्टिच्युट सञ्चालन गर्दै आएका नक्कली लाईसेन्स वितरण गर्ने विनोद खड्का र पोखराको नयाँ बजारमा दिपसीना प्रिन्टर्स सञ्चालन गरी नक्कली लाईसेन्स र सरकारी छाप बनाउने दिपक पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
दिपसिना प्रिन्टर्सका दिपक पौडेलले नक्कली लाईसेन्स छाप्ने र विनोदले पाँच हजारमा ड्राईभिङ सेन्टरबाट वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दिपसिना प्रिन्टर्स नयाँ बजारको कार्यालयबाट प्रहरीले यातायात ब्यवस्था कार्यालय भेरी र गण्डकीको छाप, शाखा अधिकृत, नविकरण, परिक्षणकाल लेखिएको नाईलन छाप, विभीन्न स्कुल, क्याम्पसहरुको छाप, नक्कली लाइसेन्स तथा एसएलसिको मार्क्सिट र सर्टिफिकेट बनाउन प्रयोग भएका उपकरणहरु बरामद गरेको छ । पक्राउ परेकाहरुलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
घटना—पोखराबाट दमौली आउँदै गरेको ग १ क २४७३ नम्बरको ट्रक चालक प्रेम गुरुङले बोकेको सवारी चालक अनुमती पत्र चार दिनअघि तनहुँ प्रहरीले नियन्त्रणमा लियो । यातायात ब्यवस्था कार्यालय भेरीबाट जारी भएको उनको सवारी चालक अनुमतीपत्र नक्कली भएको शंका लागेपछी प्रहरीले अनुसन्धान गर्ने प्रक्रिया अगाडि बढायो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित कोत्रेबाट नियन्त्रणमा लिएको उनको ०३–५२१४७८ नम्बरको सवारी चालक अनुमती पत्रको अभिलेख यातायात ब्यवस्था कार्यालय भेरिमा फेला परेन् । तनहुँ प्रहरीका अनुसार यातायात ब्यवस्था कार्यालय भेरीले प्रेम गुरुङको नाममा कुनै पनि सवारी चालक अनुमती पत्र जारी नभएको भन्दै पत्र पठाएपछि प्रहरीले प्रेमलाई सोधपुछ गर्न थाल्यो । सोधपुछका क्रममा गुरुङले कुरा खुस्काए, ‘यो लाईसेन्स मेरो भिनाजु नाता पर्ने धन कुमार गुरुङ मार्फत बनाएको ।’
त्यसपछि प्रहरी धन कुमार गुरुङको खोजीमा लाग्यो । धन बहादुर पनि ट्रक चलाउँथे । भदौ १५ गते विहान प्रहरीको फन्दामा परेका धन कुमारको साथबाट प्रहरीले ०३–५२१४१२ नम्बरको लाईसेन्स बरामद गरेर सोधपुछ गर्दा धन कुमारले भने, ‘यस्तो लाईसेन्स धन बहादुर गुरुङसँग पनि छ ।’
झट्ट हेर्दा यातायात ब्यवस्था कार्यालय भेरिबाट जारी भएको देखिने उनको लाईसेन्स पोखरास्थित मुनाल ड्राईभिङ इन्सिटच्युटका संचालक विनोद खड्काबाट खरिद गरेको धन कुमारले स्वीकारे । यसरी पोखराकै दिपसिना प्रिन्टर्स नयाँबजारमा छापिएर पाँच हजारमा बजार पठाउने गिरोहका दुई जना सहित अन्य तीनजना नक्कली लाईसेन्सधारी ट्रक ड्राईभरलाई प्रनानी मनोज पाण्डेको नेतृत्वमा गएको तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तनहुँको बन्दिपुर नगरपालिका–२ का चालक प्रेम गुरुङ, देउराली गाविस–९ का चालक धन प्रसाद गुरुङ, देउराली गाविस–६ का चालक धनबहादुर गुरुङ रहेका छन् ।
पाठक प्रतिकृयाहरू