पोखरा
सिर्जना विकास केन्द्रले पोखराको नगरक्षेत्रमा रहेका सरकारी जग्गाहरुमा पार्क निर्माण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । पछिल्लो समय पोखरा ८ सिर्जनाचोकमा रहेको करिब ३ रोपनी जमिन भाडामा दिने तयारी गरिरहेका बेला यसलाई खुल्ला पार्क निर्माण गर्न स्थानीयले माग गरेका छन् । २०३२ सालमा महिला शसक्तीकरणका लागि महिला संगठन नामक संस्थाले प्रयोग गर्दै आएको यो जग्गा २०६८ सालमा जिल्ला विकास समितिले आफ्नो नाममा ल्याएको थियो । 
त्यसपछि अहिले सार्वजनिक सूचना नै जारी गरी उक्त संगठनबाट आफ्नै स्वामित्वमा ल्याएर ब्यवसायिक प्रयोजनमा प्रयोग गर्ने तयारी गरिरहेको छ । त्यसका लागि ठेक्का प्रक्रिया सकिएर सटर बनाउने तयारी भैरहेको छ । तर यसलाई ब्यवसायिक भन्दा पनि नागरिकको हितमा प्रयोग गर्नुपर्ने नेपाली काँग्रेसका विरेन्द्र नारायण विजुच्छेले बताए । अहिले नगरक्षेत्रमा भएका सार्वजनिक जमिन कुनै नै कुनै वाहनामा समाप्त पार्ने काम भैरहेको छ, उनी भन्छन्–अब यसलाई रोक्नुपर्छ, बाँकी रहेका जग्गामा पार्क बनाउन पहल गर्नुपर्छ ।
यसको संरक्षणका लागि सिर्जना टोल विकास संस्था र सरोकारवाला सहितको टोलिले बुधबार सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । यहाँ रहेका ४ राजनीतिक दल, सिर्जना विकास केन्द्र, जाल्पादेवी महिला उद्धार समूह, सिर्जना टोल विकास संस्था र बराल समाजले संयुक्त रुपमा बिज्ञप्ती बुझाएको हो । सार्वजनिक जमिनहरु सार्वजनिक हितमै प्रयोग गरिनुपर्छ, विज्ञप्तीमा भनिएको छ–जिल्ला विकास समितिले ठेक्का दिने गरि गरेको निर्णय तत्काल फिर्ता लिईयोस् र पार्क बनाउन पहल होस् । स्थानीयले यसअघि यही भदौ ८ गते जिल्ला विकास समितिमा पनि बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराईसकेका स्थानीय बसन्त बरालले जानकारी दिए । हामीले बिज्ञप्ती सहित पार्क निर्माणका लागि सिडिओ र एलडिओलाई स्थानीयको हस्ताक्षर पनि बुझाएका छौं, उनी भन्छन्–अहिले भैरहेको काम तत्काल रोक्नुपर्छ र पार्क निर्माण गर्नुपर्छ ।