पोखरा, १५ बैशाख-भूकम्पले त्रासदी मच्चाएपछि राजधानी काठमाडौं छोड्ने सर्वसाधारणको भीड बढेको छ । विभिन्न जिल्ला एवं सदरमुकामबाट विभिन्न पेशा व्यवसाय गर्न काठमाडौं छिरेका सर्वसाधारण शनिबार गएको भूकम्पबाट प्रताडित हुदैं घर फर्कन आतुर भएका छन ।
यातायात व्यवसायीले मौकामा चौका हान्दै दोब्बर तेब्बर भाडा असुल्न पछि परेका छैनन् । तर पृथ्वीराजमार्ग बस सञ्चालक समिति पोखराले भने यात्रुहरुलाई निशुल्क ओसार्ने बन्दोबस्त मिलाएको छ । ‘काठमाडौंबाट बुधबार ५० वटाले यात्रुलाई निशुल्क गन्तव्यसम्म ओसार्ने व्यवस्था मिलाएका छौं ।’ पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एनकुमार साई भने—‘यात्रुलाई सहजताको लागि निशुल्क व्यवस्था गरेका हौं ।’ उनका अनुसार समितिको बैठक बसेर केही दिन निशुल्क यातायात व्यवस्था मिलाईने छ । 
उनका अनुसार गोरखा र लमजुङबाट समेत सर्वसाधारणलाई निशुल्क ओसार्ने सम्बन्धीत यातायात व्यवसायीलाई निर्देशन गरिएको छ । ‘गोरखा र लमजुङबाट पनि सर्वसाधारण ओसार्न २५ वटा बस व्यवस्था गरेका छौं ।’ उनले भने ।
सरकारले सहज यातायात व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन गरेको छ । विभागले पनि विना रुट सवारी सञ्चालन गरेर भूकम्प पीडितलाई गन्तव्यसम्म पु¥याउन आग्रह गरिरहेको छ । केही व्यवसायीले भने मौकाको फाईदा उठाउन पछि परेका छैनन् । निर्धारित भाडा भन्दा दोब्बर असुल गरेपछि प्रहरीले यात्रुलाई भाडा फिर्ता समेत गरेका छन् ।