आविष्कार संवाददाता,पोखरा /
विनाशकारी भूकम्पले पोखरा उपमहानगरपालिका आर्वाबिजयकी राजकुमारी विकको घर पूरै ध्वस्त भयो । भूकम्पबाट मानवीय क्षति नभएपनि घरचाहीँ आँखाअगाडि नै गल्र्यामगुर्लुम भएर ढल्यो । क्षणभरमै घर ध्वस्त भएपछि राजकुमारीले केही दिनसम्म त बाँच्ने आस नै मारेकि थिईन् । विहे भएकी छोरीको घर विग्रिएपछि छोरी सहित नाति नातिनीलाई पनि उनले आँफुसँगै राखेकी छिन् । तर भूकम्पबाट घर भत्किएपछि भने उनलाई झनै पीडा थपियो । २ नाति र २ नातिनीकी हजुरआमा राजकुमारीले ७ महिनासम्म लालाबाला सहित टहरोमा विताईन् । भूकम्पका दिन घर ढलेको पीडा भन्दा बढी चोट ब्यहोरिन् सात महिनासम्म राजकुमारीले । सुको पनि कमाई नभएकी उनको काँधमा लालाबाला हुर्काउने र शिक्षादिक्षा दिने जिम्मेवारी त छँदैछ, अझै अर्को जिम्मेवारी थपियो भत्किएको घर उभ्याउने । न श्रीमान्को कमाई छ न राजकुमारीको । राजकुमारीलाई अहिले सोही क्षेत्रका युवा समाजसेवी दर्शन लामाको संयोजनमा साझा युवा क्लवले घर बनाईदिएको छ । घर पाएपछि सँधै निराश देखिने राजकुमारीको मुहारमा अहिले खुशी छाएको छ । हामीजस्ता गरिबलाई हेर्ने पनि कोही हुँदारहेछन्, नयाँ घरको ढोकामा बसेर उनले भनिन्–अशक्त र असहायलाई सहयोग गर्नेको सँधै भगवाले रक्षा गर्नेछन् । उनको परिवार गएको दशैँको टिकाको दिनदेखि नयाँ घरमा सरेर बस्न थालेका छन् । 
राजकुमारी जस्तै अर्का पीडित मनकाजी सुनारले पनि नयाँ घर पाएका छन् । ७ जनाको परिवारमा रहेका उनी पनि घर पाएपछि निकै हर्षित भए । बैशाख १२ पछि निकै कष्टकर समय विताएका मनकाजीको परिवारले ९ महिनापछि घर पाएको हो । नयाँ घर खाद्यान्न राख्न मिल्ने, भान्साकोठा र भूकम्प प्रतिरोधात्मक क्षमताको छ । घरको गाह्रो लगाउने काम आँफैले गरेको हुँ, उनले भने–पूराना काम लाग्ने सामान बाहेक सबै सामानहरु चाहीँ संस्थाले बेहारेको हो ।
नयाँ घर अभियानका अभियानकर्ता दर्शन लामाका अनुसार विभिन्न ब्यक्ति तथा संघ संस्थाको सहयोगमा आर्वाबिजयका विपन्न र आर्थिक स्थिती कमजोर भएका परिवारलाई भूकम्प प्रतिरोधात्मक क्षमताका ८ वटा घर निर्माण गरिएको छ । घर पाउने सबै परिवार दलित परिवार हो भने आर्थिक रुपमा पनि निकै पिछडिएका सहयोगदाताहरुले जनाएका छन् । भान्साकोठा सहित तीनकोठे घर निर्माण गरी हस्तान्तरण गरिएको लामाले जानकारी दिए । टिनको टहरोमा कष्टकर जीवन विताउँदै आएका उनीहरुलाई समाजसेवाको भावनाले घर निर्माण गरिदिएका हौं, लामाले भने–घर पाएपछि सबै खुशी छन् । घर निर्माणका लागि भने बहिनी फाउण्डेशन जीरो किलोमिटर, होप ईनिशियटिभ युएसए, स्थानीय साझा युवा क्लव र सर्वधर्म मानव कल्याण समितिले सहयोग गरेका छन् । प्रत्येक घरलाई करिब तीन लाख रुपैयाँको सामान उपलब्ध गराईएको उनको भनाई छ । घर निर्माणका लागि १८ लाख ६१ हजार खर्च भएको साझा युवा क्लवले जनाएको छ । उनीहरुले ८ वटा घरसँगै एउटा विद्यालय पनि पुनः निर्माण गरिरहेका छन् । कालिका गाविसको वडा नम्बर ७ स्थित विद्याज्योति निमाविको भवन निर्माण गर्न लागिएको हो ।