पोखरा, ८ जेठ-पद्मावती हस्तकला उद्योग र रेडियो जननीको संयुक्त आयोजनामा पोखरामा रहेका भूकम्प प्रभावितहरुका लागि छ्वाली सम्बन्धी सीपमुलक तालिम सुरु भएको छ । नयाँजारस्थित तमु धिं नेपालमा रहेका भूकम्प प्रभावितहरुलाई लक्षित गरि तालिम आयोजना गरिएको हो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी पोखरा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले भूकम्पका कारण देशका प्रत्येक नागरिक पिडामा रहेको भन्दै पिडालाई बिर्सदै सम्हालिएर अघि बढ्नुपर्नेमा जोड दिए । आश्रयस्थलमा बसीरहेको अवस्थामा यो बसाई अवधिको सदुपयोग गर्दै सीप सिकेमा यही सीपबाट उद्यम गर्न सकिने भएकाले गाँउमा फर्किए पछि पनि आयआर्जनको बाटोमा लाग्न टेवा पुग्ने पौडेलले बताए । भूकम्पको तनाव कम गर्न पनि यो तालिम सहयोगी हुने विश्वास व्यक्त गर्दै उँहाले गाँउघरका छरछिमेकीलाई पनि आफूले सिकेको सीप सिकाउन आग्रह गरे ।

पोखरा उपमहानगरपालिकाका वातावरण शाखाका प्रमुख निर्मलमानसिंह भण्डारीले गाँउघरमै उपलब्ध कच्चापदार्थको प्रयोग गरि चकटी, गुन्द्री लगायत बुन्ने परम्परागत सीप हराएको महसुस भएको अवस्थामा भूकम्प प्रभावितहरुलाई लक्षित गर्दै आयोजना गरिएको यो तालिमले परम्परागत सीपको संरक्षणमा टेवा पुग्ने बताए ।
कार्यक्रममा स्वागत मन्तव्य गर्दै पद्मावती हस्तकला सञ्चालक तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले भूकम्पको पिडामा परेका परिवारलाई सीप सिकाई स्वरोजगार बनाई आयआर्जनमा सघाउ पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको बताए । तालिममा सहभागीहरुले समयको सदुपयोग गर्दै सीप सिकेर व्यवहारमा उतारी उद्यमशीलतामा लाग्ने अपेक्षा पनि उनले बताए । तालिम सिके पश्चात् पद्मावती हस्तकला उद्योगले नै कच्चा पदार्थ उपलब्ध गराई सामान बनाउन दिने र बनेका सामाग्री आफूहरुले नै खरिद गर्ने पनि जानकारी दिए ।
पछिल्लो समय भुकम्पले देशभर पारेको क्षतीसँगै निकै सक्रिय ढङ्गबाट सेवामा जुटिरहेका संस्था रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेल र नारी नेपालले समेत यस कार्यक्रममा आयोजकको भूमिका निर्वाह गरेका छन् । तालिमको सहयागी संस्थाहरुमा पोखरा उपमहानगरपालिका, जिल्ला विकास समिति कास्की र घरेलु तथा साना उद्योग कार्यालय कास्की रहेको छ ।
तालिममा सहभागीहरुलाई गहुँको छ्वालीबाट बास्केट, ढकिया, टि—म्याट, पेन होल्डर र ट्रे झोला बनाउन सिकाइनेछ । तालिमको प्रशिक्षकमा मीना बराल र शान्ति गुरुङ्ग रहेका छन् । तमु धिं मा बिहिबारसम्म १ सय १८ जना रहेकोमा तालिमबाट ३० भन्दा बढी भूकम्प प्रभावित लाभान्वित हुने अपेक्षा गरिएको छ ।