breaking news

मासुको मुल्यमा एकरुपता कायम गर

March 25th, 2015 | by adminabis

पोखरा उपमहानगरपालिकाले नगरक्षेत्रमा सञ्चालित मासु पसलहरुको अनुगमन थालेको छ । नगरपालिका, उपभोक्ता मञ्च लगाएतको उपस्थितिमा नगरका करिब सय वटा मासु पसलमा अनुगमन गरिसकेको छ । नगरपालिकाको यो कदमलाई सह्रानिय मान्न सकिन्छ । अनुगमनका क्रममा धेरै त्रुटी समेत पहिल्याएको छ ।
पोखरामा सञ्चालित मासु पसलहरु निकै अब्यवस्थित छ । अधिकांश मासु पसलहरुमा तरकारी, फलफुल र किराना सामानहरु पनि राखिएको पाईएको छ । यत्ति मात्रै होईन केही पसलहरुमा त फेन्सीका सामान पनि बाहिरै झुण्ड्याएर राखेको पाईन्छ । पछिल्लो अनुगमनका क्रममा पनि यस्ता थुप्रै लापरबाही भएको देखिएको छ । अझै २ वटा पसलहरुमा विषाधीको प्रयोग गरेको पनि भेटियो । यी पसलका सञ्चालकहरुलाई नगरपालिकाले कस्तो कारबाही गर्छ ? उपभोक्ताले प्रश्न उठाउन थालेका छन् । यत्ति धेरै कमजोरी हुँदा पनि सम्बन्धित निकायले भने खासै चासो दिएको पाईँदैन । नगरपालिका र सरोकारवाला सहितको टोलिले बर्षेनी यसरी मासु पसल अनुगमन गर्दै आएको छ तर यस्ता कार्य अझै रोकिएका छैनन् ।
यति मात्रै होईन, पोखरामा देशका अन्य शहरभन्दा कुखुराको मासुको मुल्य निकै महङ्गो छ । अन्यत्र २ सय देखि अधिकतम ३ सय २० रुपैयाँ मुल्य कायम हुँदा पोखरामा भने ४ सय ४० रुपैयाँ सम्म पुग्यो । यो त कास्की खसी तथा कुखुरा मासु ब्यवसायी समितिले कायम गरेको मुल्य हो । मासु ब्यवसायीले यही कमजोरीको फाईदा उठाउँदै उपभोक्ताको ढाड सेक्नेगरी ५ सय रुपैयाँसम्म असुले । तर सम्बन्धित निकायको ध्यान गएन ।
बर्षेनी अनुगमन गरिएपनि त्यो उपभोक्तालाई आँखामा छारो हाल्ने काम मात्रै भएको छ । अनुगमन गरेर मात्रै केही हुँदैन लापरबाही गर्नेलाई कारबाहीको दायरामा ल्याउन पनि सक्नुपर्छ । उपभोक्ताले ढुक्कसँग मासु खान सक्ने वातावरण अनुगमन समितिले बनाउनुपर्छ । जिल्लाका हरेक पसलमा एउटै मासुको मुल्य कायम गर्नुपर्छ । र यसलाई ब्यवस्थित गर्न प्रभावकारी अनुगमनको खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *