लेखनाथ उद्योग बाणिज्य संघको भदौमा हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि व्यवसायीका बिच उम्मेदवारी चर्चा शुरु भएको छ । संघको दशौं महाधिवेशन भदौको अन्तिम साता हुँदैछ । एक अध्यक्ष सहित, कार्यसमितिमा खुल्ला तर्फ १०, महिला एक, एसोसियट एक र संस्थागत एक गरी १३ जना सदस्यका विच प्रतिस्पर्धा हुनेछ । चुनावको मिति नजिकिँदै जाँदा प्रतिस्पर्धिका आंकाक्षीहरुले आफ्नो पक्षमा माहोल बनाउन शुरु गरेका छन् । गत बैशाखमा आएको विनाशकारी भूकम्पपछि सुस्ताएको संघको चुनावी वातावरण विस्तारै तात्दै गएको छ । दुई बर्षे कार्यकालका लागि हुने निर्वाचनमा बर्तमान अध्यक्ष बाबुराम गिरीले नदोहोर्याउने भएपछि त्यसका आंकाक्षीमा संघकै प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी र कार्यसमितिका पूर्व सदस्य एल. के शर्मा प्रतिस्पर्धामा उत्रिने पक्का जस्तै भएको छ ।
यद्यपी दुवै पक्षका विच संवाद गरेर सर्वसम्मत नेतृत्व चयन गर्ने विकल्प पनि खुल्ला रहेको एक व्यवसायीले बताए । दुवै जना बाहेक तेश्रो व्यक्तिमा सर्वसम्मत पनि हुन सक्छ । ति व्यवसायीले भने— पहिलो दुवै जनाका विचमा कडा प्रतिस्पर्धाको बातावरण छ, दोश्रो दुवै जनालाई मिलाएर अघि बढ्न सकिन्छ र अन्तिम विकल्पमा तेश्रो व्यक्ति हुन पनि सक्छ । दुई अध्यक्षका आकाक्षीसँगै पक्ष विपक्षमा सदस्य उठ्नेहरुले कित्ता काट गरेका छैनन् । तर पनि पुराना प्राय सवैले उम्मेदवारी दिने आकांक्षा राखेका छन् ।
वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीलाई एक पक्षले अध्यक्षको प्रत्यासीका रुपमा अघि बढाएको छ भने गत बर्ष वर्तमान कार्यसमितिका अध्यक्ष बाबुराम गिरीसँग पराजित भएका एल के शर्माले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसैगरी बर्तमान कार्यसमितिका द्धितिय उपाध्यक्ष कृष्णहरि भण्डारी, महासचिव बलराम ढकाल, उपमहासचिव भरतकुमार अधिकारी, कोषाध्यक्ष छत्रधर आत्रेय, सदस्यहरु विनोद श्रेष्ठ, गिता सुवेदी, बसन्त मोहन भट्टराई, ऋषिराम जमरकट्टेल, मेनुका श्रेष्ठ, प्रशान्तराज धमला, दुर्गा प्रसाद अधिकारी, मेजर रामप्रसाद गुरुङ्ग र गोपिचन्द्र बास्तोलाले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । वर्तमान कार्यसमितिका सवैले उम्मेदवारी दिए भने केही बाहिरिने संभावना छ । भने केही नयाँ अनुहार प्रभावशाली दावेदारका रुपमा देखिएका छन् ।
यसबर्ष भक्तवहादुर के.सी, राजेन्द्र ओझा, फेन्सी व्यवसायी शिव भण्डारी लगायतको पनि उम्मेदवारीको चर्चा छ । गत बर्ष चुनावमा पराजित भएका पुरुषोत्तमराज भण्डारी, रामजी पौडेल, दामोदरभक्त थापा, दिपेन्द्र ज्योति ढुंगाना लगायतले पनि सदस्यको उम्मेदवारी दिने तयारी गरेको वताइएको छ । त्यसैगरी विमला बस्नेत, राधा सापकोटा प्रभा पौडेलको पनि चर्चा छ । संघमा अहिलेसम्म ९ सय ४४ सदस्य रहेका छन् । कार्यसमितिले साधारण सभाको तिथिमिति नतोकिन्जेलसम्म साधारण सदस्य लिन सकिने भएकाले अझै दुई सयको हाराहारीमा सदस्य थप हुन सक्ने वताइएको छ । अहिले साधारण सदस्य पाएकाको पनि मताधिकार र उम्मेदवारी दिन पाउने अधिकार छ ।
पाठक प्रतिकृयाहरू