आविष्कार संवाददाता
पोखरा -कास्कीमा वर्षेनी १६ हजार विद्यार्थीले प्लस टु पास गर्छन् । प्लस टु अध्ययनको लागि कास्कीमा ६० विद्यालय छन् । ४५ वटा उच्च माध्यमिक विद्यालयको छाता संगठन हिसानमा आवद्ध निजी विद्यालय छन् । १५ वटा भने सरकारी विद्यालय छन् ।
हिसानसंग आबद्ध विद्यालयहरुमा करिब ८ हजार विद्यार्थीहरुले प्लस टू पास गर्ने हिसानसँग तथ्यांक छ । भने सरकारी विद्यालयबाट पनि उत्तिनै संख्यामा पास गर्ने गरेका छन् । तर उत्पादित जनशक्तिहरुमध्ये मुस्किलले ३० प्रतिशतले मात्रै स्थानीयस्तरमा काम पाएका छन् भने बाँकी उत्पादनहरु पोखरा बाहिर काठमाण्डौं र भारत तथा अन्य तेश्रो मुलुकसम्म पुग्छन् । यहाँ उत्पादित जनशक्ति मध्ये सबैभन्दा बढी ब्यवस्थापन विषयका विद्यार्थीहरुले बजार पाएका छन् भने अन्य विषयका विद्यार्थीहरु खासै बिक्न सकेका छैनन् ।
जिल्लामा स्थापित कलेजहरु कम भएका कारण उत्पादन सजिलै विक्न नसकेको हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले बताए । हाम्रोमा अझै ब्यवसायिक विकास भैसकेको छैन, उनले भने–यहाँ उत्पादन भएका विद्यार्थीहरु प्लस टू सम्म राम्रै भएपनि त्यसपछि राम्रा कलेजहरु नहुँदा बीचैमा पढाई छाड्नुपर्ने समस्या छ भने अधिकांशले पोखरा बाहिर गएर पढ्नुपर्ने बाध्यता छ ।
कास्कीमा बिज्ञान विषय मात्रै पढाउने विद्यालयहरु पनि करिब २२ वटा छन् भने अन्य सबै विद्यालयहरुमा ब्यवस्थापन बिषयको बढाई हुन्छ । तर हिसानसँग आबद्ध विद्यालयमध्ये कुनै पनि विद्यालयमा शिक्षा संकायको पढाई नहुने पन्तले जानकारी दिए । सरकारी तर्फका विद्यालयहरुमा भने अधिकांशमा शिक्षा संकायको पढाई हुँदै आएको छ । जिल्लामा करिब ६ वटा विद्यालयले मात्रै अन्य संकायसँगै मानविकी संकायको पनि अध्यापन गर्ने गर्छन् ।
उच्च माध्यमिक शिक्षा परिषद् केन्द्रीय कार्यालयले सार्वजनिक गरेको शुल्क लागू गर्न कास्कीका विद्यार्थी संगठनहरुले पनि माग गरेका छन् ।
केन्द्रीय कार्यालयले देशभरका उच्च माविहरुले फर्म शुल्क २५ रुपैयाँ र प्रबेश शुल्क १ सय रुपैयाँ भन्दा बढी लिन नपाउने निर्णय सार्वजनिक गरेको छ । केन्द्रबाट आएको निर्णय तत्काल कार्यान्वयन गर्न र तोकिएको भन्दा बढी शुल्क लिएमा यही असार २५ गतेसम्म फिर्ता गराउन विद्यार्थीहरुले दवाव दिएका छन् । यस्तै हरेक विद्यालयले प्रबेश परीक्षाको नतिजा प्रकाशन गरेको बढीमा २ दिनसम्म भर्ना लिन पाउने गरी निर्णय भएको ने.वि. संघका केन्द्रीय सदस्य सरोज केसीले जानकारी दिए ।
भर्ना शुल्क, मासिक शुल्क केन्द्रीय प्राविधिक टीमको सिफारिसको आधारमा लिने ब्यवस्था गराउने र सकेसम्म विभिन्न शैक्षिक संस्थाले फरक समयमा प्रबेश परीक्षा लिने ब्यवस्था मिलाईने बिद्यार्थी नेताहरुले बताएका छन् ।
उच्च माविबाट सिफारीस भएर आउने ३ प्रतिशत र विद्यालयले प्रदान गर्ने २ प्रतिशत छात्रबृत्तिलाई सुनिश्चित गरिने विज्ञप्तीमा उल्लेख छ । यसैगरी विद्यालयमा मोवाईल, मोटरसाईकल र मिनिस्कर्ट (थ्रि एम) लाई कडाईका साथ कार्यान्वयन गराउने निर्णय भएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष कृष्णराज दाहालले बताए । विद्यार्थीहरुले बिगत लामो समयदेखि यो बिषयलाई कार्यान्वयन गराउने बताएपनि पूर्ण कार्यान्वयन हुन सकेको छैन ।
सरकारी विद्यालयहरुमा लुटको खेति हुने गरेकाले विद्यार्थीहरुले बढी सरकारी विद्यालयमा निरीक्षण गर्नुपर्ने दाहालको भनाई छ । हामी शिक्षामा हुने सबै प्रकारको सिण्डिकेट खारेज गर्ने पक्षमा छौं, उनले भने–जायज मागका विषयमा कहिल्यै पनि बार्गेनिङ्ग हुँदैन । विद्यार्थीको हक हितका बिषयमा सँधै लागि परिरहने उनले बताए ।
हिसान कास्कीका अध्यक्ष बाबुराम पन्तले पनि विद्यार्थीका मागहरु जायज भएकाले यसको कार्यान्वयनमा आफुहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । विद्यार्थीको माग केन्द्रीय निर्णय नै हो, उनी भन्छन्–यसको कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो पनि हो, हामी यो बिषयमा गम्भिर छौं ।
पाठक प्रतिकृयाहरू