पोखरा
नेपाली काँग्रेस कास्कीका नेता रामजी पौडेल बादलको हत्यामा संलग्न थप दुईजना पक्राउ परेका छन् । प्रहरीले लेखनाथ १२ का विश्वास गौतमलाई भारतको देहरादुनबाट पक्राउ गरेको हो । गौतमलाई भारतबाट पक्राउ गरि रुपन्देही हुँदै कास्की ल्याइएको प्रहरीले जनाएको छ । यस्तै, अर्का आरोपी लेखनाथ १३ का प्रकाश गुरुङ्गले भने डाँडाको नाक प्रहरी चौकीमा आत्मसर्मपण गरेका छन् । प्रहरीले यसअघि नेता बादलको हत्यामा संलग्न भएको आरोपमा तरुण दलका कार्यकर्ता राजु रानाभाट र लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 
हत्यामा संलग्न रहेका भनिएका रविन केसी भने फरार छन् । उनको पनि खोजीकार्य चलिरहेको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रमुख हरि बहादुर पालले भने अनुसन्धानकै क्रममा दुईजना पक्राउ परेका र अनुसन्धानपछि मिडियालाई यथार्थ जानकारी दिईने बताए । बादलको दुई साताअघि हत्या भएको थियो । हत्या लगतै पक्राउ परेका राजु रानाभाटको बयानको आधारमा उनिहरुलाई प्रहरीले खोजी गरेका थियो ।
पत्रकारमाथी दुब्र्यवहार
नेपाली काँग्रेस कास्कीका नेता रामजी पौडेल बादलको हत्या आरोपमा पक्राउ परेकाहरुको फोटो खिच्ने क्रममा पोखराका पत्रकार कमल पौडेल अथकमाथी दुब्र्यवहार भएको छ । बुधबार दिउँसो पोखराको बगालेटोल घुम्तिको सार्वजनिक बाटोमा नेता बादलको हत्या आरोपमा पक्राउ परेकाहरुलाई नेपाली कागजमा ल्याप्चे सहिछाप गरेको भेटेपछि पौडेलले फोटो खिचेका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीतर्फ लागेको हत्यारा सहितको प्रहरीको गाडी बाटोमा रोकेर नेपाली कागजमा लेखिएको विवरणमा सही छाप लगाउन लगाएकोे देखेपछि आफुले फोटो खिचेको पौडेलले बताए ।
फोटो खिचेपछि किन फोटो खिचेको भन्दै प्रहरी निरीक्षक देवी पौडेल लगायत प्रहरीले क्यामरा खोसी फोटो हटाउन दवाव दिएको उनको आरोप छ । सार्वजनिक ठाउँमा अभियुक्तको सहिछाप गराएको भेटेपछि, त्यसको रहस्य बुझ्न मैले फोटो खिचेको हुँ, पौडेलले भने–फोटो खिच्दै गर्दा प्रहरीले सहिछापको कागज टोपीले छोप्दै दुब्र्यवहार गरेको हो । यस बिषयमा कास्की प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक हरिबहादुर पालले सार्वजनिक स्थलमा अभियुक्तलाई सही गराउने र पत्रकारलाई दुव्र्यवहार गर्ने प्रहरीमाथी छानविन गरिने बताए । यसैबीच, स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले बुधवार विज्ञप्ति निकालेर केन्द्रीय कार्यवाहक अध्यक्ष कमल पौडेल अथक माथी कास्की प्रहरी निरीक्षक देविप्रसाद पौडेल नेतृत्वको प्रहरी टोलीले क्यामरा खोसेर गरेको दुव्र्यवहार प्रति खेद प्रकट गरेको छ । संस्थाले स्वतन्त्र पत्रकारीतामाथी प्रहरीको हस्तक्षेप हुनु निन्दनिय रहेको भन्दै दोषि प्रहरीलाई कार्वाही गर्न माग गरेको छ ।