पोखरा-पोखराको विन्ध्यावासिनी क्षेत्र विकास समितिको अधिवेशनले गणेश बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले एक जना अध्यक्ष सहित अन्य ५ जना सदस्य चयन गरेको हो । बाँकी पदाधिकारी र अन्य सदस्य भने अध्यक्षले मनोनयन गर्नेछ । समितिको सदस्यहरुमा झपेन्द्र सुवेदी, धर्मराज पराजुली, माधव पराजुली, हेमलाल रेग्मी र रमेश प्रसाद अधिकारी चयन भएका छन् । शनिबार चयन भएका अध्यक्ष र सबै सदस्यहरु पूरानै हुन् । अन्य सदस्यहरु केही समयपछि मनोनयन हुने निवर्तमान सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । अब ४ जना पदाधिकारी र ५ जना सदस्य मनोनयन हुन बाँकी छ । अधिवेशनका बेला विन्ध्याबासिनी मन्दिरमा प्रबेश दिने बिषयमा पनि छलफल भएको छ । प्रतिमा खिईँदै गएपछि त्यसलाई छुनबाट भक्तजनलाई बञ्चित गराउने तयारी गरिएको छ । शनिवारको अधिवेशनमा छलफल भएको छ, सचिव श्रेष्ठले भने—अब नयाँ कार्यसमितिले निर्णय गर्नेछ । कार्यसमितिले ३ बर्षसम्म काम गर्नेछ । 