पोखरा १९ असार -पोखरा उपमहानगरपालिकाले आगामी बर्ष सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि तोकिएका बैंकहरुसँग सम्झौता गरेको छ । नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्दै आएका करिब १४ हजार जनालाई आगामी बर्ष बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बाँड्ने भएको छ । यसका लागि नगरपालिकाले जिल्लामा कार्यरत विभिन्न ३ वटा बैंकसंग सम्झौता गरेको छ । नगरपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी ३ वटै बैंकका कर्मचारीहरुबीच सम्झौता गरिएको हो । बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बाँड्न नगरपालिकाले नगरक्षेत्रका प्रत्येक भत्ता पाउने व्यक्तिहरूको नाममा सम्बन्धित बैंकमा खाता खोल्ने तयारी गरेको छ । पोहोर पनि बैंकबाटै भत्ता बाँडेका हौं, नगरपालिकाका पञ्जिकाधिकारी ईश्वरी प्रसाद पोखरेलले भने–यो बर्ष सबैको ब्यक्तिगत खाता समेत खोल्ने तयारी गरेका छौं ।
नगरपालिका क्षेत्रभित्र ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्ग गरी १३ हजार ९ सय ९२ जना सामाजिक सुरक्षा भत्ता पाउने व्यक्ति रहेका छन् । जसमध्ये सबैभन्दा धेरै ६ हजार ८ सय जना जेष्ठ नागरिकहरु छन् ।
यस्तै जेष्ठ दलित १ हजार ७ सय ८२, विधवा २ हजार ६ सय ६९ जना छन् भने एकल महिला १ हजार १ सय ५९ रहेका छन् । यसैगरी आंशिक अपाङ्गता भएका २ सय १५ र पूर्ण अशक्त ३ सय ४२ जनाको नामावली अध्याबधिक भएको नगरपालिकाले जनाएको छ । आगामी बर्ष भत्ता पाउनका लागि १ हजार २ सय ८५ दलित बालबालिकाको नामावली पनि अध्याबधिक भएको छ । तर बैंकमा खाता खोल्ने बेलासम्म यो संख्या पनि घट्न सक्ने अनुमान गरिएको छ । यो तथ्याकं अहिलेसम्मको हो, पोखरेल भन्छन्–खाता खोल्ने समय अझै १ महिना छ, यो बेलासम्म संख्या तलमाथी हुन सक्छ । अहिले आएको नामावलीमध्ये केही ब्यक्तिहरु नेपाल बाहिर पनि छन् । नगरपालिकाका २८ वटा वडा मध्ये सबैभन्दा धेरै वडा नम्बर २५ मा १ हजार १ सय जनाले भत्ता पाउनेछन् भने सबैभन्दा थोरै वडा नम्बर ४ मा १ सय ४८ जनाले भत्ता पाउने छन् । यस्तै वडा नम्बर १० मा ६ जना लोपोन्मुख जातिले पनि भत्ता पाउने नगरपालिकाले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको तथ्यपूर्ण तथ्यांक आउने र सरकारी बजेट दुरुपयोग नहुनुका साथै सम्बन्धित व्यक्तिले पाउने भत्ता सजिलै पाउन सक्ने भएकाले यस्तो विधि अपनाइएको नगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानाले बताए । यसका लागि सामाजिक सुरक्षा भत्ता पाउने नगरपालिकाभित्रका वृद्धवृद्धा, एकल महिला, विधवा, पूर्ण अपांग र आंशिक अपांगता भएका व्यक्तिले यस क्षेत्रका ३ बैंकका १० वटा शाखामा खाता खोल्नुपर्ने छ । यो राज्यकै नीति हो, उनले भने–बैंकिङ सुविधा सबै ठाउँमा नभएकाले नगरपालिकामा मात्र लागू गरिएको छ, यसलाई विस्तारै अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्छ । तर सरकारको यो नीति पनि प्रभावकारी नभएको सरोकारवालाको भनाइ छ । भ्रष्टाचार रोक्ने नाममा वृद्धवृद्धा तथा अशक्तलाई दुःख दिने काम भएको छ, उनीहरुले भने–यसरी वितरण गरिएपनि बास्तविक ब्यक्तिले भत्ता पाउन निकै गाह्रो छ ।
यसअघि पोखरा उपनमहानगरपालिकाका १८ वटै वडामा नेपाल बैंक लिमिटेडका शाखाहरु बाट भत्ता वितरण हुँदै आएको थियो । भत्ता वितरण गर्ने बैंकहरुले शुन्य मौज्दातमा लाभग्राहीको बचत खाता सञ्चलन गर्नुपर्नेछ भने नगरपालिकाबाट रकम निकासा आएपछि सोही खातामा रकम जम्मा गरिदिनुपर्नेछ । यस्तै निकासा रकम बढी वा घटी भएमा सोको जानकारी नगरपालिकालाई गराई रकम खातामा जम्मा भएपछि भरपाई नगरपालिकालाई नै बुझाउनुपर्ने सम्झौता छ । सामाजिक सुरक्षा भत्ता वितरणका बिषयमा केन्द्रिय स्तरबाट पनि अनुगमन र निरीक्षण गरिने नगरपालिकाले जनाएको छ । सामाजिक सरक्षा भत्ता कार्यक्रम ब्यवस्थापन निर्देशिका २०६९ ले बैंकमार्फत भत्ता वितरण गर्ने प्राबधान लागू गरेको हो । सोही नियमानुसार भत्ता बितरण हुने नगरपालिकाका कार्यकारी अधिकृत उदय बहादुर रानाले जानकारी दिए ।
पाठक प्रतिकृयाहरू