आविष्कार संवाददाता
कास्कीमा पहिलो पटक एक निर्वाचन क्षेत्र एक बहुबर्षिय योजना सुरु भएको छ । यो बर्षदेखि जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा बहुबर्षिय सडक योजना सञ्चालन गर्न लागिएको हो । डिभिजन सडक कार्यालय पोखरा मार्फत जिल्लाका विभिन्न ४ वटा सडकलाई यो योजना मार्फत स्तरोन्नति गर्ने तयारी गरिएको छ । जसअन्तर्गत क्षेत्र नम्बर २ को फुलबारी मनिपाल–काहुँ धरहरा सडक निर्माणको सिलान्यास भएको छ । 
शुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोख्रेलले सडक निर्माणको सिलान्यास गरेका हुन् । यो सडक निर्माणका लागि सरकारले १२ करोड ९६ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर निर्माण कम्पनीसँग भने ९ करोड ३२ लाख रुपैयाँमा सम्झौता भएको छ । २०७४ साल मंसिर ३० गतेसम्म सम्पन्न गर्नेगरी आशिष÷नयाँबजार÷फेवा जेभी कम्पनीसँग गएको असार २८ गते सम्झौता भएको सडक डिभिजन कार्यालयले जनाएको छ । सम्झौता अनुसार यो सडकमा कालोपत्रे, नाली निर्माण, सडक चौंडा र अन्य आबश्यक संरचना निर्माणको काम हुने कार्यालय प्रमुख नरेन्द्र सुवेदीले बताए ।
कार्यक्रम अन्तर्गत क्षेत्र नम्बर १ मा बेगनास–भोर्लेटार सडक योजना, क्षेत्र नम्बर ३ मा चिसापानी–सिंगारेबास–टक्सार सडक र क्षेत्र नम्बर ४ मा पोखरा बागलुङ्ग बसपार्क–सराङ्गकोट–ढिकुरपोखरी सडक पनि स्तरोन्नति गर्न लागिएको सुवेदीले जानकारी दिए । यी सडकहरुमा ५÷५ करोड रुपैयाँ लगानी हुने उनको भनाई छ । पहिलो पटक राम्रो योजना सञ्चालन हुन लागेको हो, उनले भने–सबै योजनाको सम्झौता भैसकेको छ, अब काम सुरु गर्छौं । फुलबारी–काहुँ सडक बाहेक अन्य सडकहरुको निर्माण कार्य २ बर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ । यी सबै योजनाको पनि सम्झौता सकिएको भन्दै केही समयपछि नै काम सुरु हुने सुवेदीले बताए ।
स्तरोन्नति गर्न लागिएको काहुँ धरहरा सडकमा ६ किलोमिटर, बेगनास–भोर्लेटार सडकको करिब ४ किलोमिटर, चिसापानी–टक्सार सडकको ३ किलोमिटर र बागलुङ्ग बसपार्क–ढिकुरपोखरी सडकको करिब १० किलोमिटर खण्डमा काम हुने कार्यालयका ईञ्जिनियर विश्व बिजयलाल श्रेष्ठले जानकारी दिए । यी सडकहरुलाई जिल्लाको मूख्य सडकका रुपमा राखेर बर्षेनी स्तरोन्नति हुँदै आएपनि देखिने गरी काम हुन सकेको थिएन । स्तरोन्नति त पहिले पनि हुँदै आएको छ, श्रेष्ठले भने–तर यति ठूलो रकम थिएन, अहिले रकम पनि राम्रो छ काम पनि राम्रै हुन्छ । सडक स्तरोन्नति हुने भएपछि साँघुरो र अप्ठ्यारो सडकको सामना गर्दै आएका यस क्षेत्रका स्थानीयहरुले राहत पाउने छन् । सडक स्तरोन्नतिको योजना संबिधानसभाको निर्वाचनमा जिल्लाबाट निर्वाचित सभासदहरुको पहलमा राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयले स्विकृत गरेर जिल्लामा पठाएको हो । काहुँ धरहरा वाटो निर्माण समितिका उपाध्यक्ष बोधराज घिमिरेले सडक निर्माण भएपछि निकै राहत मिल्ने र पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने बताए ।
यसैबीच, जिल्ला विकास समिति कास्कीले पनि केही बर्षभित्र जिल्लाका विभिन्न ८ वटा ठूला सडकहरुको स्तरोन्नति गर्ने तयारी गरेको छ । जसमा सबैभन्दा पहिले कास्कीकोट–सराङ्गकोट–ढिकुरपोखरी सडकको स्तरोन्नतिको काम गरिनेछ । एसएनआरटिपी परियोजना मार्फत ५ बर्षभित्रमा योसँगै बैदाम—पामे—घाटिछिना, लामाचौर—माछापुच्छ«े सडक कालोपत्रे गरिनेछ । यस्तै सातमुहाने—रुपाकोट—थुम्की, कसेरी—भैंसे, छोरेपाटन—निर्मलपोखरी—भरतपोखरी, राखी—मिजुरे र काहुँखोला—दुधपोखरी सडकलाई पनि कालोपत्रे गरिने जिल्ला प्राविधिक कार्यालयका प्रमुख ईञ्जिनियर नारायण श्रेष्ठले जानकारी दिए । विश्व विकास बैंकको सहयोगमा कास्कीकै लेखनाथमा पनि ६ वटा सडकहरु स्तरोन्नति को तयारीमा छन् ।