आविष्कार संवाददाता जेठ २७ -सेतीनदीको कटानका कारण पोखराको दोविल्ला क्षेत्र उच्च जोखिममा परेको छ । निर्माण व्यवसायीले जथाभावि रुपमा निर्माण सामग्री निकाल्ने गरेका कारण नदीको धार परिवर्तन भई जमिन कटान गर्न थालेको हो । नदी किनार क्षेत्रमा जथाभावी गिट्टी, ढुङगा र बालुवा झिक्नाले बढी क्षति भएको सहारा क्लव पोखराका अध्यक्ष विरभद्र आचार्यले बताए । नदी कटान बढ्दै गएको छ, उनले भने–विभिन्न सरकारी निकायलाई पटक पटक निवेदन दिएका छौं तर कुनै चासो दिएको छैन ।
क्लवले पनि दोविल्ला क्षेत्र जोगाउनका लागि सिञ्चाई मन्त्रालय, वन, स्थानीय विकास मन्त्रालय लगाएतका मन्त्रालयहरुमा कटान रोक्नका लागि निवेदन पेश गरिसकेको आचार्यले जानकारी दिए । नदी वारि र पारिका ढुङ्गाहरु समेत जमिन भत्काएर लान थालेपछि अहिले यस क्षेत्र कटानको जोखिममा परेको छ । नदी माझ बगाएर ल्याएका ढुङ्गागामात्र ट्याक्टर व्यावसायीहरुले झिक्नुपर्ने भएपनि नदी वारिपारि दुवैपट्टिका जमिन खनेर तथा पाखा भत्काएर समेत ढुङगा निकाल्ने गरेका स्थानीयले गुनासो गरेका छन् ।
कटान नियन्त्रणका लागि पोखरा उपमहानगरपालिकाले तत्कालका लागि ९ लाख रुपैयाँ विनियोजन गरिसकेको जनाएको छ । नदीको कटान बढ्दै गएको गुनासो निकै धेरै आउन थालेको छ, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदय बहादुर रानाले भने–संरक्षण गर्ने दायित्व हाम्रो पनि हो त्यसैले तत्कालका लागि ९ लाख रुपैयाँ विनियोजन गरिएको छ । विनियोजित रकमले दोविल्ला क्षेत्रको उच्च जोखिम ठाउँ पहिचान गरेर रिटेनिङ्ग वाल निर्माण गर्ने उनले बताए । पैसा छुट्टिएको छ, उनी भन्छन्–अब जतिसक्दो छिटो स्टिमेट गरेर काम अगाडी बढाउँछौं । नगरपालिकाले भर्खरै सुरु भएको वातावरणमैत्री स्थानीय शाशन कार्यक्रम मार्फत यो बजेट विनियोजन गरेको हो । यो कार्यक्रमले दोविल्लाको करिब ४६ रोपनी क्षेत्रफलमा स्मृति पार्क समेत निर्माण गर्ने तयारी गरिएको छ ।