पोखरा /रेवान पोखराले आयोजना गरेको पाँच दिने पोखरा सडक महोत्सव शुक्रबार समापन भएको छ । ‘राजनीतिक तथा प्राकृतीक कारणले यसपटकको महोत्सव आयोजनामा विगतको भन्दा निकै चुनौतीपूर्ण थियो, तर हामीले अपेक्षा गरेको भन्दापनि राम्रो संग महोत्सव सम्पन्न भयो’– रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले भने ।
महोत्सव संयोजक दोर्जे लामाले पाँच दिने महोत्सव सफल पार्न सहयोग गर्ने सम्पूर्ण प्रायोजक, अवलोकनकर्ता, कार्यक्रममा सहभागि कलाकार तथा विभिन्न समिति उपसमितिमा रहि कार्य सम्पादनमा सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे । अहिलेलाई अनौपचारिक तरिकाले सम्पन्न गरिएपनि पछि औपचारिक कार्यक्रमबिच महोत्सवको समापन गरिने संयोजक लामाले बताए ।
सडक महोत्सवको अन्तिम दिन शुक्रबारपनि विभिन्न साँस्कृतीक कार्यक्रमहरु सञ्चालन भए । तामाङको सेलो, तामाङ लामाद्धारा दिगो शान्तिको कामना सहित शान्ति ध्वनी, मगर जातिको कौडा नृत्य, गुरुङ जातिको छ्याडु नृत्य, र पन्चे बाजा अन्तिम दिन सडकमा गुन्जिएका थिए । बसुन्धरा पार्कमा राष्ट्रिय गायक प्रकाश सपुत, कृष्ण गुरुङ, कुमार पुन सहित स्थानीय कलाकारमा प्रजापति पराजुली , जिवन दाहाल, शंकरविरही गुरुङ, सुरेन्द्र गुरुङ, शिवहरी ढुंगना, विजय केसी, केशव घिमिरे, सविता गुरुङ, रतिमाया खड्का, नेत्रपाणि बाँस्तोला लगायतका कलाकाहरुको प्रस्तुती रहेको रेवान पोखराका उपाध्यक्ष भिमसेन भुजेलले जानकारी दिए । भद्रगोल युनिटका कुमार कंटेल (जिर्की) र अर्जुन घिमिरे (पाँडे) लगाएतले हाँस्य कार्यक्रम प्रस्तुत गरे ।
खेलकुदतर्फ रस्साकसिमा गौरिघाट क्लव प्रथम हुँदै नगद रु १० हजार प्राप्त ग¥यो । दोश्रो भएको रत्नश्री समुहले नगद ७ हजार तथा तृतीय भएको लेक बृजले ४ हजार प्राप्त गरेको खेलकुद कार्यक्रम संयोजक हरि भुजेलले जनाए । विजयी समुहलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा लगाएतले पुरस्कार वितरण गरेका थिए । बिहिबार राति अंग्रेजी नयाँ वर्ष २०१६ को स्वागत गर्न बसुन्धरा पार्कमा हजारौं युवाहरु जम्मा भएका थिए ।